पीडित भनिएकी शाहीका पतिसँगको सल्लाहमा महराको राजीनामा, किटानी जाहेरी नपर्ने

इनेप्लिज २०७६ असोज १५ गते १२:०२ मा प्रकाशित

काठमाडौं, १५ असोज । राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले यौन दुराचार गरी पीडित बनाएको दाबी गरिएकी संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीका पतिसँगको सल्लाहमा नै राजीनामाको भाषा तय भएको खुलेको छ ।

महराले दिएको राजीनामाको भाषाबारे नेपाली कांग्रेसलगायतले विरोध गरिरहेको बेला यस्तो खुलासा भएको हो । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले महरालाई राजीनामा दिन दबाब दिएपछि पीडित भनिएकी शाहीका पतिसँगको सल्लाहमा फिर्ता हुन सक्ने गरी उक्त प्रकरणको टुंगो नलागेसम्मका लागि पदमा नरहने भाषामा राजीनामा आएको थियो ।

महराले यस प्रकरणलाई समझदारीमा टुंगो लगाउनका लागि पटक–पटक रोशनी शाहीलाई फोन गरेर भनेका थिए । उनका पतिलाई पनि फोन गरी घटनाबारे महराले नै जानकारी गराएको र समाधानको उपाय खोज्नका लागि सुझाएका थिए ।

सो क्रममा राजीनामा दिनुपर्ने बाध्यतामा परेको सुनाएका उनले शाहीका पतिसँग कुराकानी गरेका थिए । उजुरी परेको खण्डमा मात्र अनुसन्धान र छानबिन हुने भएपछि रोशनी शाहीले जाहेरी नदिने भएकी छन् । उनले उक्त विषय सामाजिक सञ्जालमा उल्लेख गर्दै लेखेकी छन्,‘मैले किटानी जाहेरी नदिएसम्म महरालाई कसैले छुन पाउँदैन, हामी सल्लाह गर्दैछौं अरुले टाउको दुखाउनु पर्दैन, तैपनि महरा सर निर्दोष छन् ।’

यसको अर्थ शाही र परिवारले महराविरुद्ध किटानी जाहेरी नदिने भएकी छन् । उनले घटना भएको भनिएको भोलीपल्ट स्वास्थ्य उपचार गराउन पनि चाहिनन् ।

शाहीको अर्को भिडियो पनि उक्त सल्लाहका आधारमा नै तयार पारिएको थियो । प्रहरीलगायत कसैसँग पनि सम्पर्कमा नरहेकी शाही एकाएक भिडियोसहित महराविरुद्ध लगाएको आफ्नै आरोपको खण्डन गर्दै भिडियोमार्फत अनलाइन न्युज पोर्टलमा उदाइन् । त्यसमा महराको कुनै दोष नरहेको उनको कथन थियो ।

कतिपय समाचारहरूमा शाहीका पतिले महराविरुद्ध उजुरी नदिने बताइसकेका छन् । महरा आफ्ना गुरु भएको र पत्नी शाही मानसिक रोगी भएको भन्दै उनले उक्त घटनाको अनुसन्धान प्रक्रिया अघि नबढाउने संकेत गरेका छन् ।

प्रतिक्रिया