उपनिर्वाचन तयारी : आयोगले माग्यो ३९ करोड, सरकारले दियो २५

इनेप्लिज २०७६ भदौ २२ गते ११:३९ मा प्रकाशित

काठमाडौँ, २२ भदौ । उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रूपैयाँ उपलब्ध गराएको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने खर्च माग भएअनुसार सरकारबाट २५ करोड रूपैयाँ निकास भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

आयोगले सरकारसँग ३९ करोड रूपैयाँ मागेको थियो । मागे अनुसार खर्च प्राप्त नहुँदैमा उपनिर्वाचनलाई खासै फरक नपर्ने खरेलले बताए ।  उनका अनुसरा खर्च अभाव हुने देखिएपछि भने आयोगले फेरि सरकारसँग माग्न सक्नेछ ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी निर्वाचित भएको कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा क्षेत्रसहित तीन प्रदेश सभा र स्थानीय तह गरी ५० स्थानमा उपनिर्वाचन हुँदैछ ।

आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने काम सकेको छ भने निर्वाचनका कार्यक्रम प्रकाशन गर्ने, निर्वाचन अधिकृतको कार्यालय खोल्नेजस्ता काममा गर्न बाँकी छ । आयोगले दल दर्ताका लागि पनि राजनीतिक दललाई आह्वान गरिसकेको छ ।

गण्डकी प्रदेश कास्की निर्वाचन क्षेत्र नम्बर २ मा निर्वाचन हुँदैछ । यहाँ पूर्वमन्त्री रवीन्द्र अधिकारीले चुनाव जितेका थिए । उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ ।

गण्डकी प्रदेशकै बाग्लुङस्थित प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (ख) मा पनि प्रदेश सभा सांसदका लागि उपनिर्वाचन हुँदैछ । प्रदेश नम्बर ३ को भक्तपुरस्थित निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) मा सांसद हरिशरण लामिछानेको निधन भएकाले त्यहाँ पनि उपनिर्वाचन हुँदैछ ।

प्रदेश नम्बर ५ को दाङ प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ । त्यहाँबाट प्रदेश सांसद चुनिएका उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएको थियो ।

यस्तै, गाउँ र नगरका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष रिक्त रहेको ठाउँमा पनि उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया