मृत्यु बोध

इनेप्लिज २०७६ भदौ २२ गते ३:३४ मा प्रकाशित

हो
मृत्यु सत्य हो
मैले मर्नु पर्छ
तिमीले मर्नु पर्छ
सबैले मर्नु पर्छ
तर म मृत्युसंग डराउछु
कालो भीमकाय यमराज
कस्तो डरलाग्दो रुप
म मृत्युबाट भाग्न खोज्छु
किन किन म मृत्यु सहर्ष अपनाउन सक्दिन
अकाल मृत्यु, असामयिक मृत्युका
आलंकार प्यारा लाग्छन मलाई
जीवनको अन्त्य निस्चित छ
थाहा हुदै पनि
म मलाई माया गर्छु
मृत्युलाई घृणा गर्छु
म, मेरो र हाम्रोमा रुमलिएको छु म
माया दुःख हो
लोभ पाप हो
थाहा भए पनि
यिनैमा रतिएको छु म
किन मैले मृत्युलाई बुझ्न सकिन
किन जीवनको अन्तिम सत्य
मृत्युलाई अंकमाल गर्न सक्दैन
मृत्यु बोध गर्न सक्दैन
ममा अझै “म” छ
सत्यलाई टाढा राख्ने “म”
यहि मले मलाई
माया, मोहको अभेध्य चक्रब्युहभीत्र राखेको छ
मैले मोक्षलाई बुझेको छैन
ममा मृत्युलाई आत्मसात गर्ने आँट छैन
यद्दपि मृत्यु सत्य हो
मेरो, तिम्रो
जीवात्मा सबैको ।

समीर जोशी
(यादवराज जोशी)
फल्स चर्च, भर्जिनिया
दिनांकः सेप्टेम्बर ८, २०१९

प्रतिक्रिया