रवि पत्रकार हो कि होइनन् ?

अनिलभक्त खरेल २०७६ भदौ १७ गते ०:३२ मा प्रकाशित

अनिलभक्त खरेल ।  न्युज २४ बाट प्रसारित हुने “जनतासंग सीधा कुरा”का टीभी प्रस्तोता(पत्रकार) रवि लामिछाने जब कार्यक्रम स्थलबाट कार्यक्रम संचालन हुनुभन्दा केही घण्टा अगाडि छापामार शैलीमा गिरफ्तार हुँदा समेत कुनै संचारमाध्यम, पत्रकार महासंघ, प्रेस काउन्सिल, विभिन्न राजनीतिक पार्टी निकट खोलिएका पत्रकार संघ संगठन कसैले पनि प्रतिवाद गरेनन् । हो शंकाको घेरामा रहेका कुनैपनि व्यक्तिमाथि अनुसन्धान हुनुपर्छ । संविधान र कानुनभन्दा कोहीपनि माथि हुन्नन् र छैनन् पनि । अनुसन्धान गर्नु राज्यको कर्तव्य र अधिकार पनि हो, तर अधिकार छ भन्दैमा विना वारेन्ट कुख्यात अपराधिलाई झैं कार्यकक्षबाट नै गिरप्mतार गर्नु अशोभनीय र निन्दनीय कार्य हो । अरु तपसील जे भएपनि संचारगृहको कार्यकक्षमा प्रहरीले बुट बजार्दा आम संचार एकीकृत भई आवाज उठाउनु पथ्र्यो तर पत्रकार जगत यस घटनामा नराम्रोसंग चुक्यो । संचारजगतको लागि यो घटनालाई कालो दिनको रुपमा लिंदा समेत फरक नपर्ला ?

पार्टी सम्बन्ध खुलेका झोले पत्रकार संघ संगठन, पत्रकार महासंघ र प्रेस काउन्सिलले संचारगृहमा छापामार शैलीमा प्रवेश गरेको घटनाको विरोध गर्नु त परै जावोस् उल्टै रवि लामिछाने पत्रकार नै होइनन् समेत भन्न पुग्यो । रवि लामिछाने पत्रकार नहुनको लागि सर्वप्रथम न्युज २४ संचार गृह हुनु भएन । यदि न्युज २४ संचार गृह हो भने त्यहाँ कार्यरत जनतासंग सीधा कुराका कार्यक्रम प्रस्तोता रवी पत्रकार हुन् यसमा कसैको दुईमत नहोस् ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ७ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरि पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालको आचारसंहिता २०७३ ले समेत रवि पत्रकार नै हुन् भन्ने पुष्टि गर्दछ । पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार भन्नाले कुनै संचारमाध्यमममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसंग आबद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डसदस्य, सम्वाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यग्य चित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा संचालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामुलक कार्यसंग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ । त्यस्तै “सञ्चार माध्यम” भन्नाले नेपालमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सुचना तथा विचारमुलक कार्यक्रम उत्पादन, वितरण र संप्रेषण गर्ने संस्था र सेवा सम्झनु पर्छ भन्ने छ । यस हिसावले रवि पत्रकार नै हुन् भन्ने पुष्टि गर्दछ ।

पत्रकार आचारसंहिताले नै रवि पत्रकार हुन् भन्ने पुष्टि गरिरहेको अवस्थामा आचार संहिता जारी गर्ने प्रेस काउन्सिलका कावा अध्यक्षले किन र के कारणले रवि पत्रकार हैनन् भनिरहेका छन् विचारणीय छ । हुन त यस आचार संहिताको व्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहनेछ भनिएको छ । कतै त्यही अन्तिम अधिकार त प्रयोग भएको हैन काउन्सिलका कावा अध्यक्षबाट ?

काउन्सिलका कावा अध्यक्षले सबैप्रति समान व्यवाहार देखाउनु पर्छ र पर्थ्यो पनि । यस घटनाबाट उहाँ चुक्नु भएको हो कि जस्तो देखिन्छ । पत्रकार आचारसंहितालाई अपव्याख्या गरिनु हुन्न थियो । अपव्याख्या गरेर गैर जिम्मेवारी अभिव्यक्ति दिनु पुर्वाग्रही मात्र हैन कि प्रेस काउन्सिलको वजन घटाउनु पनि हो यसतर्फ ध्यान जानु जरुरी छ ।

रविले यस अघि जवसम्म पत्रकार महासंघ तथा प्रेस काउन्सिलमा पार्टीका चाटुकदार हुन्छन् तवसम्म आफुले पत्रकार महासंघको सदस्य नलिने भनेकै कारण रविहरु पत्रकार हैनन् भनेर अपव्याख्या गरिएको हो भने पत्रकारहरुको लागि यो दुर्भाग्य हो ।

छापामार शैलीमा कार्यकक्षबाट चितवन पुयाइएका रविहरुको आवाज बोल्दिने कोही पत्रकार तथा राजनीतिक पार्टी भएनन् किनकि रविहरुले कार्यक्रम मार्फत ती सबैको दोहोलो काडेको थिए त्यसैले उनीहरु रविलाई सडाउन चाहन्थे तर जनबलको अगाडि कसैको केही लागेन । सम्मानित अदालतले अन्ततः उनलाई ५ लाख धरौटीमा छोड्यो तर अदालतको निर्णलाई शिरोधार्य गर्दै उनले केही बोलेनन् । अदालतले भिडियो गर्दा दोश्रो व्यक्ति हुनसक्ने, शरिरमा भएका निलडामबारे प्रश्न, फोनको अवस्था, भिडियो रेकर्डको समय र मृत्युको समय, पोष्टमार्टमको रिपोर्ट लगायतका आशंका फैसलामा उल्लेख गर्नु विचारणीय छ । सम्मानित अदालतले सरकार र रवि दुवै पक्षलाई जिताउने फैसला गरेको छ । हैनभने यावत कुराहरुमा शंका हुँदा हुँदैपनि किन रविलाई ५ लाख धरौटीको फैसला सुनाए ? किनकि न्यायाधिशमाथि सरकारले प्रेसर दिएको हुनसक्छ । यावत प्रमाणले रवि निर्दोष देखिएपछि उनको र आम जनताको शाख गिराउन ५ लाख धरौटीको निर्णय गरिएको हुनसक्छ । हैनभने आफु प्रहरी हिरासतबाट निस्केको ३ मिनेटमा घटनाको सत्यतथ्य पत्ता लगाइदिने भनेका रविहरुको मुखमा किन ताला लगाइयो ? किनकि जनताले जनताले विद्रोह गर्छन् भनेर अदातलते प्रतिबन्ध लगाएको हुनसक्छ । यदि जनविद्रोह भयो भने कसैले थेग्न सक्दैनन् । रवि सुर्य हो अहिले सुर्य(रवि)लाई हत्कोलाले छेक्ने प्रयास गरिदैछ । सुर्य (रवि)लाई हत्केलाले छेकेर छेक्न सकिन्न । यदि केही समय छेक्न खोजिन्छ भने जसरी महाभारतमा जयद्रथ मारिए त्यसैगरी नेपालका जयद्रथहरु मारिने छन् । स्मरण रहोस् महाभारतमा भगवान श्रीकृष्णले केही समयको लागि हत्केलाले सुर्य छेकेका थिए पछि हटाएपछि अर्जुनबाट जयद्रथ मारिएका थिए । चेतनाभया । अमेरिका, भर्जिनिया

प्रतिक्रिया