गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने मिलनलाई प्रहरीले गोली ठोक्यो

इनेप्लिज २०७६ साउन २४ गते ११:१२ मा प्रकाशित

काठमाडौँ, २४ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरीमामा गोली चलेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर नियन्त्रण लिइएको एसएसपी थापाले जानकारी दिए ।

रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिएका थिए । काठमाडाैँ  रहेर धम्की दिँदै आएका उनलाई पक्रन गएको महाशाखाको टोलीले गोली चलाएको हो ।

उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी थापाले बताए । प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाको दाबी छ ।

मिलनसँगै उनका साथी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । प्रहरी अधिकारीका अनुसार अमृत र मिलन दुवै रामेछापका हुन् ।

गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ ।

प्रतिक्रिया