पुरिएर काठमाडाैं उपत्यकामै चार जनाकाे मृत्यु,

इनेप्लिज २०७६ असार २८ गते १०:०६ मा प्रकाशित

काठमाडौं, २९ असार । लगातार वर्षापछि आएको पहिरोले पुरिएर काठमाडौं र ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी बाबाचोकस्थित अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नीतु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको घरको पर्खाल ढलेर पुरेको प्रहरीले जनाएको छ ।

शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।

शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । उनीहरू नजिकै मोटरसाइकल ग्यारेज र सिरक–डसना पसल चलाउँछन् ।

दाजुभाइकै परिवार राति त्यही टहरामा बस्थे । श्रीमान् र देवर शुक्रबार बिहानै आ–आफ्नो काममा निस्कएका थिए ।

टहरामा सर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए । दिउँसो अचानक टहरादेखि माथि रहेको पक्की घरको ‘प्रोटेक्सन वाल’ भत्किएर उनीहरूलाई थिच्यो ।

ढिस्कोमा रहेको बलराम खतिवडाको घर परिसरमा बनाइएको पिल्लर र बिमसहितको पर्खाल भत्किएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।

पर्खालले टहरो पुरिनासाथ सशस्त्र, नेपाली सेना र प्रहरीको संयुक्त टोली उद्धारका लागि आएको थियो । टोलीले करिव डेढ घण्टा लगाई पिल्लर, डन्डी काटेर तीन जनाको शव निकालेको स्थानीयले जानकारी दिए ।

त्यसैगरी ललितपुरको वाग्मती गाउँपालिका २, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो ।

काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेका छन् ।

प्रतिक्रिया