मन्त्री लालबाबु पण्डितमाथि ललितपुरमा दुर्व्यवहार

इनेप्लिज २०७६ असार २७ गते ९:३१ मा प्रकाशित

काठमाडाैँ, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार भएको छ।

ललितपुरमा शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकको अध्यक्षता गर्नका लागि जावलाखेल पुगेका मन्त्री पण्डितमाथि कार्यक्रम स्थलमै आदिवासी जनजाति युवा विद्यार्थीको एक समूहले दुर्व्यवहार गरेको हो।

लोकसेवा आयोगको विज्ञापनलाई लिएर मन्त्री पण्डितमाथि दुर्व्यवहार गरिएको बताइएको छ।

बैठक जारी रहेकै समयमा विद्यार्थीहरुको समूहले लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर् लगायतका नारा लगाउँदै कार्यक्रम स्थलमै प्रवेश गरेर कालो झण्डा समेत देखाएका थिए।

बैठकसमेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्रसिंह घानुकले मन्त्रीमाथि कालो झण्डा देखाउनेहरुको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया