ट्रम्पको ‘महान दिन ‘को भविष्यवाणी: रूस-युक्रेन शान्ति वार्ता सन्देशमा नयाँ मोड

इनेप्लिज २०८२ वैशाख २८ गते ९:२६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान सामाजिक संजाल ट्रुथ सोसलमा एक सन्देश जारी गर्दै रूस र युक्रेन बीचको शान्ति वार्तामा “ठूलो प्रगति” हुने सम्भावना व्यक्त गरेका छन्।

उनले भने, “रूस र युक्रेनका लागि सम्भावित रूपमा एउटा महान दिन आउनेछ।” ट्रम्पले युद्धको यो असहनीय “रक्तपात” अन्त्य गरिनु पर्छ भन्दै, युद्धमा हजारौँ निर्दोष मानिसहरूको ज्यान गै रहेकोमा चिन्ता व्यक्त गरे। ट्रम्पले अझै पनि दुवै पक्षसँग काम गर्दै शान्ति प्राप्त गर्ने उद्देश्यमा आफनो प्रयास जारी राख्ने बताएका छन्।

उनले थपे, “अमेरिका अब पुनर्निर्माण र व्यापारमा ध्यान दिन चाहन्छ,” र “आगामी हप्ता महान दिन हुनेछ!” यस सन्देशबाट ट्रम्पले शान्ति प्रक्रियामा आफ्ना सक्रिय प्रयासहरूको सन्देश दिइरहेका छन्। यस समयमा, पुटिनले रूसको विजय दिवसको अवसरमा ३ दिनको युद्धविराम घोषणा गरे तापनि युक्रेनी पक्षले यसलाई अस्वीकार गर्दै पुटिनको प्रस्ताव उल्लंघन भएको आरोप लगाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रूस बीचको युद्धको अन्त्यका लागि ३० दिनको पूर्ण युद्धविराम प्रस्ताव गरेका छन्। आइतबार, बेलायत., फ्रान्स, जर्मनी र पोल्याण्डका नेता सँगको बैठकपछि, जेलेन्स्कीले टेलिग्राममा प्रकाशित (पोस्ट )गर्दै भने, “हामी सबैले १२ मे देखि पूर्ण र बिना शर्त युद्धविराम सुरु गर्ने सहमति जनाएका छौं।”

तर, रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीको प्रस्तावलाई अस्वीकृत गर्दै आफ्नो प्रस्ताव पेश गरे। उनले भने, “रूस वार्ता पुनः सुरु गर्नको लागि कुनै पूर्वसर्त राख्दैन। अहिले युद्ध भइरहेको छ । हामीले रोकिएको वार्ता पुनः सुरु गर्नको लागि प्रस्ताव गरेका हौं।

यसका उत्तरमा, जेलेन्स्कीले संचार माध्यम टेलिग्राममा पुटिनको प्रस्तावलाई “सकारात्मक संकेत” भनेर प्रतिक्रिया जनाए। उनले भने, “कुनै पनि युद्धको वास्तविक अन्त्यको पहिलो कदम युद्धविराम हो। हामी पर्खिरहेका छौं कि रूसले १२ मे देखि पूर्ण, दीर्घकालिक र विश्वसनीय युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन यसका लागि तयार छ।”

प्रतिक्रिया