अन्धाधुन्ध सम्बन्धन नदिन प्रधानमन्त्रीको निर्देशन

इनेप्लिज २०७६ असार १८ गते ११:५९ मा प्रकाशित

काठमाडौंँ, असार १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम क्षेत्रको पहिचान, श्रम शक्तिको उत्पादन र समुचित उपयोग हुने नीति तथा कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले पोखरा विश्व–विद्यालयको २०औँ साधारण सभालाई मङ्गलबार बालुवाटारमा उद्घाटन गर्दै सो विचार व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा विश्वविद्यालयले योजना बनाउन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकको विकास गर्ने जनशक्ति बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पाए पनि सीप र क्षमता छैन । त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्छ । ”
प्रधानमन्त्री ओलीले शासकहरूमा दृष्टिकोण अभाव हुँदा नेपाल केही समय पछि परे पनि अब यो अवस्था लामो समय रहँदैन भन्नुभयो । उहाँले देशको आवश्यकता र शिक्षाको तादात्म्यता नमिल्दा शिक्षित जनशक्ति पनि बेरोजगार बन्नुपरेको बताउनुभयो ।
उहाँले मुलुकको आवश्यकता र श्रम क्षेत्रको पहिचान हुन नसक्दा शिक्षामा गरिएको लगानी र समय खेर गएको चर्चा गर्दै रोजगारीका अवसर कहाँ छन् भन्ने पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले पनि नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिँदा मुलुकको आवश्यकता र रोजगारीको अवस्थालाई विचार गरेर सम्बन्धन दिनुपर्ने बताउनुभयो ।
“खेत बेचेर पाइलट बनेका छन् तर हवाईजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ,” मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेल नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “हलो जोतेर खाने खेत पनि छैन । हवाईजहाज पनि छैन । ”
पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरूले तत्कालै रोजगारी नपाउने स्थिति भएको प्रधानमन्त्री ओलीको जिकिर थियो । शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेसामा खपत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तालिमहरू दिँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरू लाग्नुपर्छ । ”
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनाअनुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयका पदाधिकारीलाई उहाँले निर्देशन दिँदै भन्नुभयो, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस् । सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुस् । प्राविधिक विषयमा जानुस् । ”
कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकता पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ । प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एकपटक प्राध्यापकहरूलाई भनेको थिएँ, तपाईंहरूका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?”
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले पनि जनशक्तिको प्रक्षेपण र प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्दै अव्यवस्थित जनशक्ति उत्पादन हुने प्रकारले नजान आग्रह गर्नुभयो ।

प्रतिक्रिया