मन्त्रिमण्डल पुनर्गठन हल्ला मात्रै हो, अहिले केही पनि हुँदैन : मन्त्री महासेठ

इनेप्लिज २०७६ असार ११ गते ११:५५ मा प्रकाशित

काठमाडौँ, ११ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । ‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन’, उनले भने, ‘यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो ।’

उनले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ ।

उनले भने, ‘मन्त्रिमण्डल पुनगर्ठन भएपनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पुनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन ।’

अध्यक्षद्वय ओली र प्रचण्डबीच यदि सहमति भएको भए सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि उनले स्पष्ट पारे । सरकार सञ्चालनबारे पनि पार्टीभित्र सहमति नै रहेको उनको जिकिर थियो ।

महासेठले भने, ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तरविरोध छैन । मैले बुझेअनुसार केपी ओली नै अबको पाँच वर्ष प्रधानमन्त्री हो । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने हुन्छ । तर, अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन । यो हल्लाको विश्वास नगर्नको लागि म आग्रह गर्दछु ।’

सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस डराएको उनको आरोप छ ।

उनले विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको बताएका हुन् । सरकारले केही पनि काम गर्न सकेन भनेर आलोचना भएकोप्रति उनले गुनासो पोखे ।

मन्त्री महासेठले सरकारले एक वर्षमा ईतिहासमै कसैले गर्न नसकेको काम गरेर ‘रेकडर्’ नै कायम गरेको पनि दाबी गरे । उनले भने, ‘सडक, रेल, पुल–पुलेसा हामीले धेरै बनाएका छौं । नयाँ–नयाँ सडक बनाउनेदेखि ट्रयाक खोल्नेसम्मका धेरै काम गरेका छौँ । यसमा पनि हामीले रेकर्ड नै कायम गरेको छ ।’

सरकारको पहिलो वर्षको दुई तिहाई समय ऐन, नियम बनाउनमा व्यतित भएको बताउँदै महासेठले अब जनतामा प्रत्यक्ष प्रभावका पार्नेगरि द्रुत गतिमा काम अघि बढ्ने विश्वास दिलाए ।

सरकारले एक वर्षमा एक हजार किलोमिटर सडक पिच गरेको, एक हजार पन्ध्र सय किलोमिटर सडक ग्राभेल गरेको र पन्ध्र सय किलोमिटर नै नयाँ ट्रयाक खोलेको पनि उनले सुनाए । उनले भने, ‘एक वर्षमा ईतिहासमा कुनै पनि सरकारले ८ सय किलोमिटर सडक पिच गरेको थिएन । हामीले गरेर देखाएका छौं ।’

प्रतिक्रिया