ओली–प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ छलफल

इनेप्लिज २०७६ असार ११ गते ११:५४ मा प्रकाशित

काठमाडाैँ, ११ असार ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच वान टू वान छलफल भएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलबीच बुधबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेर लगायतका विषयमा कुरा भएको स्रोतले जनाएको छ ।

गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए । त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि आज दुई अध्यक्षबीच परामर्श भएको हो।

अघिल्लो वर्ष जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तर, एकताले अझैँ पूर्णता पाउन सकेको छैन ।

एकताले पूर्णता नपाउँदै पार्टीभित्र चर्काे मतभेद देखिन थालेको छ । खासगरी पार्टीले अंगिकार गर्ने ‘विचार’का विषयमा मतभेद देखिएको छ ।

पूर्वएमालेभित्रको संस्थापन पक्ष जनताको बहुदलीय जनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त हुनुपर्छ भन्ने पक्षमा छ भने पूर्वमाओवादीका नेताहरु एकताका बेला सहमति भएअनुसार जनताको जनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त हुनुपर्छ भन्नेमा छन् ।

आलोपालो नेतृत्वको विषयलाई लिएर पनि पार्टीभित्र मतभेद देखिएको छ ।

प्रतिक्रिया