नगर उपप्रमुख चढ्ने सरकारी गाडीमा विप्लव समूहद्वारा आगजनी

इनेप्लिज २०७६ असार १० गते ९:०१ मा प्रकाशित

कावासोती,  १० असार । विप्लव समूहले नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने सरकारी गाडीमा आगजनी गरेको छ ।

नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा गएराती आगजनी भएको हो । राति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा राखिरहेको गाडीमा आगजनी भएको हो ।

आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । उनका अनुसार पेट्रोल छर्केर आगजनी गरिएपनि तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन पाएन ।

उपप्रमुख मर्दनियाका अनुसार मोटरसाइकलमा आएका २ जनाले आगलागी गरेर फरार भएका हुन् । बन्दको पूर्वसन्ध्यामा भएकाले आगलागी बिप्लब निकट माओबादिले गराएको हुन सक्ने अनुमान गरिएको छ । कावासोती नगरपालिकाको नगर परिषद आज हुने भएकाले त्यसकै तयारीमा राति अबेरसम्म काम गरेपछि आफैले गाडी लिएर उपप्रमुख मर्दनिया निवास गएका थिए ।

यसैबीच, विप्लव समूहले आव्हान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । आफ्ना नेता कार्यकर्ताको हत्या र गिरफ्तार गरिएको बिरोधमा विप्लव समूहले गरेको बन्दको प्रभाव नवलपुरमा पनि परेको हो ।

पूर्वपश्चिम राजमार्गमा लामा तथा छोटा सवारीसाधन संचालन भएका छैनन भने फाट्टफुट्ट रुपमा निजि सवारीसाधन तथा मोटरसाइकल चलेका छन् । बन्दलाई मध्यनजर गर्दै नवलपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका विभिन्न ठाउँमा तिनै तहका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया