बेनी–जोमसोम–कोरला सडक निर्माण तीव्र गतिमा

इनेप्लिज २०७६ जेठ २८ गते १०:५५ मा प्रकाशित

काठमाडौंँ जेठ २८ गते । नेपाल चीन हुँदै तेस्रो देशसम्मको ब्यापारका लागि अत्यन्तै आकर्षक हुने बेनी–जोमसोम–कोरला सडक निर्माण अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । कालिगण्डकी करिडोरका नाममा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजनामा प्रधानमन्त्री कार्यालयको समेत विशेष चासो रहँदै आएको छ ।
म्याग्दीको बेनीदेखि जोमसोमसम्मको ७४ किलोमिटर र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर लामो सडक ११ मिटर चौडा बनाउने गरी एक्साभेटर, लोडर तथा हजारौ ँ श्रमिक खटिइरहेका छन् । नेपालले चीनका विभिन्न बन्दरगाह प्रयोग गर्न पाउने गरी द्विदेशीय समझदारी भएपछि चीनको ग्वाङ्जाओ बन्दरगाहको लाभ लिन यो सडक प्रयोग हुनेछ ।
पोखरा–बाग्लुङ सडक हुँदै मालढुङ्गा–बेनी सडकसँग जोडिएको यो सडक निर्माणमा पहाडी र हिमाली खण्ड पार गर्ने नाकास्थलहरूको पहरा चिर्न ठूलो जनशक्ति र उपकरण परिचालित छन् । चुनौतीपूर्ण मानिएको म्याग्दीको कालीगण्डकी खाँेच, रुप्से झरना आसपासको पहरा फुटाउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ । कतिपय स्थान नेपाली सेनासँग सहकार्य गरेर ब्लास्टिड नै गर्नुपर्ने खालका छन् ।
बेनी -जोमसोम काम धमाधम
बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रेसमेत गर्ने गरी काम भइरहेको छ । चार खण्डमा ठेक्का लगाइएको बेनी जोमसोम सडकको पहिलो दुई खण्डको भौगोलिक अवस्था अत्यन्तै जटिल देखिन्छ । खासगरी गलेश्वर–तातोपानी १२ किलोमिटर र तातोपानी घाँसा सडकमा पर्ने भीरकोटे, महाभीर र काभ्रेभीरको करिब एकजार सातसय मिटरको पहरा ब्लास्टिङ गर्नुपर्ने देखिएको छ ।
बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवका अनुसार यी भीरबाहेकका क्षेत्रमा काम अहिले तीव्र गतिमा भइरहेको छ । “तीनवटा भीरमा एक्साभेटरले पहरा फोर्न नसक्ने देखिएको छ, त्यसबाहेकका स्थानमा सडकको प्रगति उल्लेख्य छ ।” उहाँले भन्नुभयो, “कालोपत्रे समेत गर्ने गरी ठेक्कालागेको यो सडक खण्डको भौतिक प्रगति ४७ प्रतिशत छ ।” उहाँका अनुसार ब्लास्ट गर्ने योजना समयमै कार्यान्वयन गर्न सके आगामी कात्तिकसम्ममा सडक निर्माण सम्पन्न हुनेछ । यो खण्डका लागि कुल दुई अर्व ४५ करोड रुपियाँमा ठेक्का संझौता सम्पन्न भएको हो ।
ग्राभेल सडकमात्र निर्माण गर्ने गरी सातवटा खण्डमा ठेक्का लागेको जोमसोम–कोरला ११० किलोमिटर सडक निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ ।
जोमसोमदेखि ग्रिन ताङ्वेसम्मको १८ किलोमिटर पहिलो खण्ड अधिकांश पूरा भइसकेको छ । अधिकांश कटान सकेर अहिले ग्राभेलिङ भइरहेको छ । सुन्दर भूस्थलमा चिटिक्क फराकिलो सडकदेखेपछि पहिलोपटक यो सडकमा गाडी गुडाउँदै गरेका सवारी चालक देवेन्द्र राईले भन्नुभयो,“ काठमाडौँमा विकास भएन भन्ने सुनिन्थ्यो, विकासको झड्का त मुस्ताङतिर आएको रहेछ ।”
ग्रिन ताङ्वेदेखि सैलेसम्म ११ किलोमिटर खण्डमा नालासहित सडक लगभग तयारी अवस्थामा छ । अबको एक महिनामा यो खण्ड पूरा गरिसक्ने योजना निर्माण कम्पनीको छ ।
सैलेको घ्याकरदेखि भेनासम्मको ११ किलोमिटर क्षेत्र भने अत्यन्तै जटिल देखिएको छ । छुसाङबाट उचाइ नाप्दै जाँदा पुगिने समरको भीर साँचिकै खतरनाक छ । चट्टानी पहरोका कारण उच्चलागत पर्ने देखेपछि निर्माण कम्पनीले काममा अलमल गरिरहेको स्थानीयको आरोप छ । तर आयोजना कार्यालयका अनुसार पहरामा ब्लास्ट गर्नका लागि नेपाली सेनासँग सहकार्य भइरहेको छ । यहि जेठभित्रै ब्लास्टिङ गर्ने कार्यालयले जनाएको छ । यो खण्डको निर्माणका लागि कान्छाराम एण्ड कोसी एण्ड न्यौपाने जेभीले ५३ करोड ७४ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । यो खण्ड तयार हुन भने अझै एक वर्ष लाग्ने देखिएको छ ।
भेनादेखि माथि जैतेको सडक आगामी भदौमा सम्पन्न हुने गरी काम भइरहेको छ । यहाँदेखि सुरु हुने बलौटे मरुस्थीलय पहाडमा खनिएका फराकिला बाटा नरम केकमा भरिएको बुट्टा जस्तै आकर्षक देखिन्छन् । जैतेदेखि चराङसम्मको १९ किलोमिटर र चराङदेखि छोसारसम्म २५ किलोमिटर सडक आगामी कात्तिक मसान्तसम्म सक्ने गरी स्रोत साधन परिचालन भइरहेको छ ।
अन्तिमखण्ड छोसेरदेखि उत्तरी सीमा नाका कोरलासम्म १६ किलोमिटर सडक खण्ड तयार भइसकेको छ । ठेकेदार कम्पनी दिवा रौताहा एपेप्स जेभीले निर्माण पूरा गरी हस्तान्तरण समेत गरिसकेको छ ।
यही गतिको काम हुने हो भने जोमसोम कोरला सडक आगामी वर्षको असार मसान्तसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । “जोमसोम–कोरलाखण्डमा पुलबाहेक सडक संरचना ७७ असारसम्म सक्ने योजनाअनुरुप तीव्र गतिमा काम भइरहेको छ,” उहाँले भन्नुभयो,“ कतिपय पुलहरू ठेक्का लागे पनि कतिपय डिजाइनका क्रममा रहेकाले एक वर्ष भित्र बन्न सक्दैनन् ।”
पुलमा भने ढिलाइ
बेनी जोमसोम कोरला सडक खण्डमा कुल ३५ वटा पुल बनाउनुपर्ने प्राविधिक ठहर छ । यसमध्ये १३ वटा पुल निर्माणाधीन अवस्थामा छन् । चार वटा पुल सडक विभागअन्तरगतको पुल महाशाखाले बनाउने तयारी गरेको छ । बाँकीको अवस्था भने अझै टुङ्गो लागेको छैन ।
अन्य डिजाइनकै हुने क्रममा रहेको आयोजनाले जनाएको छ । चारवटा पुल सडक विभाग अन्तरगतको पुल महाशाखाले निर्माणको जिम्मेवारी लिएको छ ।
छुसाङ नजिक कालीनदीमा निर्माणाधीन पुल भने सडकभन्दा निकै साँघुरो बनिरहेको छ । ११ मिटर चौडा सडक बनिरहेकामा सो खोलामा छ मिटर चौडा पुल निर्माणाधीन अवस्थामा छ । जिल्ला समन्वय समिति मुस्ताङमा बनिरहेको यो पुल के गर्ने भन्नेमा भने अन्योल छ । सडक विस्तार आयोजनाले भने सो स्थानमा नयाँ डिजाइनसहित ठूलो पुल बनाउनु उपयुुक्त हुने जनाएको छ ।
सडकको भावी उपयोग
गत वैसाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयन सम्झौता भइसकेको छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका यातायात मन्त्री ली स्याउफङले हस्ताक्षर गरेको उक्त सम्झौताले नेपालले औपचारिक रूपमा चिनियाँ समुद्रसँगको पहुँच स्थापित गरेको छ ।
नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी उक्त कार्यविधि टुङ्गो लगाइएको थियो । नेपालले अहिलेसम्म मुख्यतः भारतको कोलकातास्थित हल्दिया बन्दरगाह र अर्को विशाखापट्टनम बन्दरगाहको उपयोग गरी तेस्रो देशसम्म वस्तु आयात तथा निर्यात गर्दैआएको छ ।
कार्यविधि अनुसार नेपालले अब आफूलाई सहज हुने चीनको कुनै पनि बन्दरगाह प्रयोग गर्न पाउनेछ । त्यस्तै बन्दरगाहसम्मको पहुँचका लागि छिटो र उपयुक्त रुट प्रयोग गर्न दिन पनि चिनियाँ पक्ष सहमत भएको छ ।
नेपालका लागि तियान्झिन, सेन्जझेन, लियायुङयाङ, झानझिङ सामुद्रिक बन्दरगाह र ल्हासा, ग्वाडझाओ र सिगात्से लगायतका सुख्खा बन्दरगाह बढी उपयुक्त देखिएका छन् ।
बेनी र जोमसोम कोरला सडक ग्वाडझाओ बन्दरगाह सदुपयोग गर्दै दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशसँग वैदेशिक ब्यापारका लागि सहज हुनेछ । इन्जिनियरहरू अनुसार यो सडकमा ठूला लरी टकहरु पनि सहज रुपमा चल्न सक्नेछन् ।
चार हजार मिटरभन्दा माथिको उचाईमा पर्ने खण्ड हिमपातको असर धेरै हुने भएकाले हिउँदमा सडक सञ्चालनका लागि उपयुक्त प्रविधिबारे पनि अहिले नै सोच्नुपर्ने प्राविधिकहरु बताउँछन् ।
सडक बन्दै गर्दा कोरला नाकाम चिनियाँ सरकारले भन्सार तथा सुरक्षा चेक प्वाइन्ट स्थापना गर्न तीव्र गतिमा भवन निर्माण गरिरहेको छ । उसले सीमानामा तारबार पनि गरिसेकेको छ । तर नेपाल पक्षको भने तयारी सुस्त छ । भन्सार सुविधा, सुरक्षा प्रबन्धका लागि कोरालामा नेपाल पक्षले हालसम्म कुनै संरचना तयार भने गरेको छैन । सिमानाबाट करिब १५ किलोमिटर तल छोसेरमातर्पm एक भन्सार कार्यालयमात्र खोलिएको छ ।
बेनी जोमसोम कोरला सडक मुस्ताङका आफ्ना लागि लाइफलाइन नै हुने मुस्ताडका स्थानीयको अपेक्षा छ । ‘योे सडकले समृद्धि भित्राउँछ,’ स्थानीयको भनाइ छ ।

प्रतिक्रिया