कीर्तिपुरका ढोका र गढपर्खाल इतिहास मात्रै

इनेप्लिज २०७६ जेठ १३ गते ९:५८ मा प्रकाशित

काठमाडौँ, जेठ १३ गते । मध्यकालमा निकै व्यवस्थित तरिकाले विकास गरिएको सहर हो कीर्तिपुर । यस सहरलाई रणनीतिक र सामरिक हिसाबले चारैतिरबाट पर्खाल लगाएर सुरक्षित बनाउन १२ वटा ढोकाको निर्माण भएको इतिहास छ ।
१२ वटा ढोका बाहिर अर्को सुरक्षा कवचका रुपमा १२ वटा पोखरी थिए । पोखरी भन्दा बाहिर जङ्गल थियो । त्यति मात्र होइन यी ढोकासँग जोडेर सहरको सुरक्षाका लागि गढ पर्खाल बनाइएको थियो तर अहिले ती गढ पर्खाल लोप भइसके । जङ्गलको नामोनिसान छैन ।
कीर्तिपुरलाई विश्व सम्पदा सूचीमा मध्ययुगीन बस्तीका रुपमा सूचीकृत गर्ने प्रयास भए पनि कीर्तिपुरका मौलिक गहना अब रमाइलो इतिहास मात्र बनेका छन् ।
‘बस्तीलाई एक गढको रुपमा विकास गरी बस्ती छिर्ने ध्वाखा (ढोका)हरु बनाइएको कीर्तिपुरका संस्कृतिविद् प्रयागमान प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्तरलिच्छवि कालदेखि पूर्वमल्लकालमा नै बनाइएका ढोकाहरूले शाहकालसम्म आइपुग्दासमेत कीर्तिपुर देशको सुरक्षाकवच बनिरह्यो ।” उहाँका अनुसार लिच्छवि राजा शिवदेव तृतीयका पालामा कीर्तिपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्ने काम थालनी भएको हो । त्यही समयमा शिवदेव तृतीयले आफ्नो देशलाई एक किल्लाको रुपमा सुरक्षाको प्रवन्धसहित व्यवस्थित गरेका हुन् । सामरिक सुरक्षाको संरचना प्रबन्ध गर्ने क्रममा त्यही बेला नै कीर्तिपुरमा ढोका र गढपर्खाल बनाइएका हुन् ।
कीर्तिपुरको पुरानो नाम गुँ देय् हो । यस गुँ देय्को अर्थ जङ्गलको देश हो । त्यसबेला १२ वटा ठूलाठूला ढोकाहरू रहेको त्यस बाहिर जंगल रहेको संस्कृतिविद् प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘रणनीतिक रुपमा नै बनाइएको भन्ने कुरा ती सबै ढोकाहरूलाई वरिपरिबाट गढपर्खालले जोडेको प्रमाणबाट थाहा पाउन सकिन्छ ।’ उहाँका अनुसार तत्कालीन कीर्तिपुरलाई सबैभन्दा बाहिर जङ्गल (गुँ), त्यसपछि १२ वटा पोखरी र पोखरीभन्दा भित्र गढपर्खालले घेरेको संरचना थियो ।
पृथ्वीनारायण शाहले कीर्तिपुरमा दुईपटकसम्मको आक्रमणमा हार्नुका पछाडि तिनै गढपर्खाल र ढोकाको सुरक्षा रहेको उहाँको भनाइ छ । ढोकाबाट उक्लिन खोज्दा कीर्तिपुरे सेनाले हानेको हतियारले पृथ्वीनारायण शाहका भाइ सुरप्रताप शाहको आँखा फुटेको इतिहासकार बताउँछन् ।
यी १२ वटा ढोका सामरिक मात्र होइन बरु सांस्कृतिक महत्वका पनि छन् । जात्रा भित्र्याउनेदेखि शव मसानघाट लैजानका लागि समेत फरकफरक ढोका छन् ।
कीर्तिपुरमा जात्रा भित्र्याउनका लागि बनाइएको ढोका हो, द्य ध्वाखा (देव ढोका) । कीर्तिपुरको इन्द्रायणी जात्रालाई भित्र्याउनका लागि यो ढोका प्रयोग गरिन्छ । यो ढोकाको काठको खापासहित अहिले पनि मध्यकालीन मौलिक स्वरुपमा जगेर्ना गरिएको छ ।
देवढोकाको पश्चिमपट्टी समलमा रहेको सी ध्वाखा पनि सांस्कृतिक हिसाबले महत्वपूर्ण ढोका हो । कीर्तिपुरमा मानिसको मृत्यु हुँदा त्यहीँ ढोकाबाट मसानमा मलामी लैजाने चलन रहेको कीर्तिपुरबासी बताउँछन् ।
कीर्तिपुर सहरको पूर्वमा रहेको ध्वाखा सी अर्थात् मूः ध्वाखा (मूल ढोका) भने पूर्वबाट बिहानै सूर्यको दर्शन गर्न बनाइएको विश्वास गरिन्छ ।
द्य ध्वाखा, सी ध्वाखा र मूः ध्वाखाबाहेक अन्य ढोकाहरु भने सामारिक सुरक्षाकै उद्देश्यको निर्माण गरिएको प्रधानको तर्क छ । सामरिक रणनीतिका लागि बनाइएका ढोकाहरू दथु ध्वाखा, माख्र्य ध्वाखा, चिथु ध्वाखा, आजु द्य ध्वाखा, गःछेँ ध्वाखा, पाघु ध्वाखा, बादेय् ध्वाखा, देय् ध्वाखा र सी ध्वाखा हुन् । १२ औँ शताब्दीमा बनाइएका यी ढोकाहरू टोलको नाममा पनि बनाइएका छन् ।
हाल यी ढोकामध्ये इन्द्रायणी जात्रा भित्र्याउने द्य ध्वाखा र आजु द्य ध्वाखा मात्र खापासहित मौलिक स्वरुपमा संरक्षित रहेको संस्कृतिविद् प्रधानले बताउनुभयो । अन्य १० वटा ढोकाहरू भने नगरपालिकाले नमूनाका रुपमा नयाँ बनाएको छ ।
प्रधानका अनुसार हालको समलमा रहेको सी ध्वाखाको वैकल्पिक ढोका र खासीबजारको पाघु ध्वाखाको भने केही अघिसम्म ढुङ्गाको जगमा थाम गाड्न खोपिएको प्वाल थिए । अहिले ढलान गरी बाटो बनाएकाले त्यो चिन्ह छोपिएका अवस्थामा रहेको उहाँले बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाले गएको वर्ष एक समिति बनाई कीर्तिपुरका ऐतिहासिक तथा पुरातात्विक ढोका र गढ पर्खाल खोज्ने प्रयास गरेको थियो । ढोकाहरू रहेको प्रमाण भेटिएपछि नयाँ स्वरुपमा नै भए पनि तिनीहरूको संरक्षण गरिएको नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अनुज प्रधानले बताउनुभयो । गढपर्खालका केही अवशेष भेटिए पनि अधिकांश ठाउँमा बस्ती बसेकाले पर्खाल खोज्न भने नसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया