भ्रष्टाचार मुद्धामा अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा हाजिर

इनेप्लिज २०७६ जेठ १ गते ११:५१ मा प्रकाशित

काठमाडाैँ, १ जेठ । ७८ लाख घूस लिएको सार्वजनिक भएपछि पद त्यागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन्।

अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको बताइएको छ ।

भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

बयानपछि आजै उनको विषयमा थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने अथवा साधारण तारेखमा छोड्ने आदेश दिनेछ।

पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन्।

घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो। २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।

अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ।

उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ। सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने भनिएको छ। यो घूस प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन्।

दुवै व्यवस्थाअनुसार उनलाइ ९ देखि १२ वर्षसम्म कैद हुनेछ। अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ। ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ। सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ।

 

प्रतिक्रिया