राष्ट्रियसभा बैठक: समावेशी बजेट ल्याउन माग

इनेप्लिज २०७६ वैशाख ३० गते ११:२५ मा प्रकाशित

काठमाडौ वैशाख ३० गते ।

आगामी आर्थिक वर्षको बजेटले अपाङ्गता भएका व्यक्ति, जनजाति, दलित र महिलालगायतलाई प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद रमेशप्रासद यादवले मधेशी, जनजाति, दलित समुदायलाई उपेक्षा गरेर देश विकास हुन नसक्ने बताउनुभयो । जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद खेमराज नेपालीले विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले उज्यालो देखाएको दाबी गर्नुहुँदै देशमा दिगो विकास, शान्ति, समृद्धि र स्थायित्वलाई बजेट विनियोजनले समेटेको बताउनुभयो ।

सांसद प्रकाश पन्थले जनतालाई अनूभूति हुने गरी बजेट आउनुपर्ने बताउनुहुँदै सुशासन कायम गर्ने बजेटको प्रमुख लक्ष्य हुनुपर्ने बताउनुभयो । अपाङ्गता भएका बालबालिका अझै पनि विद्यालय बाहिर रहेकाले प्रभावकारी कार्यक्रम ल्याउन उहाँले माग गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र सहयोगी सामग्रीका बारेमा प्रस्ट कार्यक्रम आउनुपर्ने सांसद पन्थको भनाइ थियो ।
.
सांसद रामचन्द्र राईले कृषिमा सिँचाइ, मलको व्यवस्थालाई बजेटले समावेश गर्नुपर्ने बताउनुभयो । सिमान्तकृत आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहमा ल्याउने गरी बजेट ल्याउनुपर्ने उहाँको भनाइ थियो । सांसद रामप्रीत पासवानले वियोजन विधेयकको नाममा पुरानैलाई निरन्तरता दिइएको बताउनुहुँदै वैदेशिक रोजारीमा जानेलाई ऋण दिने व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।

प्रतिक्रिया