पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

इनेप्लिज २०७६ वैशाख २९ गते १२:०७ मा प्रकाशित

रुपन्देही, वैशाख २९ गते । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ ।

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो ।
रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राख्नुभयो । मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उहाँको भनाइ थियो ।

अध्यक्ष घर्तीले नेपालको साधनस्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयासस्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो । उहाँले पार्टीभित्र कुनै समस्या नरहे पनि शान्ति र स्थायित्व नचाहनेले अनावश्यक हल्ला चलाउने गरेको तर्क गर्नुभयो ।

सरकारले ल्याएको मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उहाँले मिडियामाथि अङ्कुश लगाउने सरकारको नियत नभएको बताउनुभयो । उहाँले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्याएर जान सकिने बताउनुभयो ।

प्रतिक्रिया