केही दिनभित्रै पार्टी एकता निष्कर्षमा : नेता आचार्य

इनेप्लिज २०७६ वैशाख ३ गते १०:०५ मा प्रकाशित

बेनी, वैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो ।

उहाँले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताउनुभयो । “अब पछि फर्कने ठाउँ छैन, एकतामार्फत् एकताबद्ध भएर अघि बढ्नुपर्छ, निश्चित कार्यविधिको आधारमा नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ”, नेता आचार्यले भन्नुभयो ।
वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम कार्य गर्नको लागि आधार तयार गरिसकेको बताउँदै उहाँले नयाँ सविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले जनतामा सार्वभौमसत्ताको अधिकार रहेकाले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया