विश्व कविता दिवस रे, खै के लेखुँ कविता !!

रामप्रसाद खनाल २०७५ चैत ७ गते २२:१२ मा प्रकाशित

तेत्तिस कोटि देवी देवताहरू

ढुङ्गामा सीमित भए पछि

साँढे चढेर हिँडेका पशुपति

कुन्नि कता हो कता गए पछि

उजाड मन्दिरहरूमा आजकल

घण्टहरू एकोहोरो मात्र बजिरहन्छन्

दर्शनार्थीहरु भजन भजिरहन्छन

तर कुनै अत्तोपत्तो छैन

देवी देवताहरूको !

अलि पर देखिन्छ

राक्षसहरू अट्टहास हाँसिरहेका

दुर्जनहरु उनीहरूसँग टाँसीईरहेका

खै किन हो कुन्नि सज्जनहरू पनि

दुर्जनहरु सँगै गाँसीईरहेका

त्यसैले होला मुड चलेको छैन

खै के लेखुँ कविता !!

कविता न सबिता

बरु मलाई

मस्त निद्रामा सुत्न देऊ
मुर्दा शान्ति मै सही
मलाई घुरेर सुत्न देऊ
मलाई मुर्दा झैँ सुत्न देऊ
लेख तिमीहरू नै कविता
लेख जे जे मन लाग्छ लेख
देख जे जे मन लाग्छ सपना देख
म आजकल
सपना देख्न छाडी सकेको छु
कविता लेख्ने कलमहरू
परदेशका दल दलहरूमा
गाडी सकेको छु, गाडी सकेको छु !

– रामप्रसाद खनाल, विश्व कविता दिवस, मार्च २१, २०१९, हाल अमेरिका

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया