नेपाल–भारत पारवहन सन्धिमा जलमार्ग पनि थपिने

इनेप्लिज २०७५ चैत ७ गते १०:२३ मा प्रकाशित

काठमाडौँ, ७ चैत । नेपाल र भारत दुई देशबीचको पारवहन सन्धिमा जलमार्ग पनि थपिने भएको छ । भारतको नयाँ दिल्लीमा गएको सोमबार र मंगलबार भएको दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीको बैठकमा जलमार्ग थप्ने विषयमा सहमति भएको हो ।

बैठकमा सहभागी वाणिज्य मन्त्रालयका एक अधिकारीले जलमार्गसँगै थप दुइटा बन्दरगाह प्रयोग गर्न, भैरहवा र विराटनगर नाकामा पनि कार्गो बल्क आउन दिन नेपालले भारतसामू प्रस्ताव गरेको बताए । यी तिनवटै कुरामा भारतीय अधिकारी सहमत भएका छन् ।

नेपालले पनि पानीजहाज चलाउने पक्रिया सुरू गरेकाले यो सहमति एउटा महत्वपूर्ण खुट्किलो हो’, छलफलमा सहभागी एक नेपाली अधिकारीले भने ।

उनका अनुसार भारत उडिसाको धमिरा र गुजरातको कण्डला बन्दरगाह नेपाललाई प्रयोग गर्न दिन र तेस्रो मुलुकबाट नेपाल आउने बल्क कार्गोको प्रवेश बिन्दुका रूपमा विराटनगर र भैरहवालाई समेत मान्यता दिन सहमत भएको छ । अहिले तेस्रो मुलुकबाट आउने बल्क कार्गो वीरगन्ज–रक्सौल नाकामा मात्रै आउने गरेको छन् ।

पारवहन सन्धीमा जलमार्ग पनि समावेश भएपछि भारतले गंगालगायत नदीमा बनाइरहेको जलमार्ग नेपालले पनि प्रयोग गर्न पाउनेछ । यसअघि काठमाडौंमा भएको दुई देशका अधिकारीहरूको बैठकले गंगा नदीका साहेबगन्ज र कालुघाट टर्मिनल नेपालले प्रयोग गर्नेबारे सहमति गरेको थियो ।

नेपालले हल्दिया बन्दरगाहमा आउने सामान साहेबगन्ज टर्मिनल प्रयोग गरेर विराटनगरमा ओसारपसार गर्न सक्छ भने वीरगन्जका लागि कालुघाट टर्मिनल प्रयोग गर्न सक्छ ।

सन् १९९९ मा नेपाल र भारतबीच द्विदेशीय पारवहन सन्धि भएको थियो । वाणिज्य मन्त्रालयका अधिकारीहरूले अहिले गरेको सहमतिलाई दुबै देशका मन्त्रिपरिषदबाट स्वीकृति भएपछि सन्धीकै अंग बनेर लागू हुनेछ ।

प्रतिक्रिया