काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले भने, ‘राजपा शान्तिपूर्ण आन्दोलनको लाइन छोड्दैन । हाम्रा मागहरु पूरा भएका छैनन् ।’
उनले टिकापुर घट्नामा रेशम चौधरी संलग्न नभएको पनि जिकिर गरे । ‘जुन दिन त्यो घटना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन्’, उनले भने, ‘अर्को दिन, थारुहरुको जुन प्रकारको स्मिता, सम्पत्ति, ईज्जत सबै लुटियो । त्यो घटनाको बास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छजस्तो मलाई लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर ।’
आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ । ‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो–गर्यो । मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाइ पनि पक्कै पनि हेर्नेछ’, उनले भने, ‘मुद्दाको सबै अंग, सबै घटनाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन् ।’
सरकारले विप्लवमाथि हिजोबाट लगाएको प्रतिबन्धबारे टिप्पणी गर्दै उनले भने,‘यो कुरा त के हो भने जब कुनैपनि चिजलाई बढ्ता थिचिन्छ, त्यो झन माथितिर आउने स्थिति हुन्छ । यसलाई ‘ट्याक्टफुल्ली–ह्याण्डलिङ’ गर्न सक्नुपर्दथ्यो । २०५२ सालमा जब माओवादीहरु गएर तत्कालिन् प्रधानमन्त्रीलाई एउटा ज्ञापनपत्र बुझायो, त्यसलाई कुनैपनि वास्ता गरिएन । हुँदै जाँदा यत्रो ठूलो जनयुद्ध भयो । देश नै अहिलेसम्म फसिरहेको अवस्था छ ।’
उनले विगतको घट्नाबाट पाठ सिकेर सरकारले विप्लवमाथि कारबाही वा प्रतिबन्ध लगाउनु भन्दापनि वार्ता तथा सम्वादद्वारा समस्याको अवतरण गराउने प्रयास गरिएको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखे । उनले भने,‘वार्ता तथा सम्वादमार्फत सेफल्याण्डिङ गरेको भए भए नै उचित हुन्थ्यो ।’
प्रतिक्रिया