कञ्चनपुरमा थप साढे ५ किलो सुन भेटियो

इनेप्लिज २०७५ फागुन ३ गते ११:१७ मा प्रकाशित

काठमाडौँ, ३ फागुन । प्रहरीले कञ्चनपुरमा थप साढे ५ किलो सुन बरामद गरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुन बरामद भएको १५ घण्टा पनि नबित्दै प्रहरीले पुनः बिहीबार मध्यराति शुक्लाफाँटा नगरपालिका–११ स्थित एक घरबाट थप सुन बरामद गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध महाशाखा र कैलाली–कञ्चनपुर (पुनर्वास) प्रहरीको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२ दशरथ बस्तीका शंकर विकको घरभित्र गाडेर राखिएको अवस्थामा बिहीबार दिउँसो १८ किलो सुन बरामद गरेको थियो ।

उक्त घर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवाको ससुराली हो । उनैले सुन ल्याएर लुकाउन दिएको आरोपमा सुरजलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ ।

उनकै बयानका आधारमा प्रहरी टोलीले बिहीबार राति १ बजेतिर शुक्लाफाँटा नगरपालिका–११, अमरपुरस्थित उनकै दाई लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । सुरजका दाजु भारतमा सवारी चालकको काम गर्छन् ।

उनीहरूले भारतबाट सुन तस्करी गरेर ल्याएको प्रहरीले अनुमान गरेको छ । लक्ष्मण तिरुवाको घरबाट राति नै सुन बरामद गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । यसबारे प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने जनाएको छ ।

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटनामा अनुसन्धान गर्न सीआईबीको टोली कञ्चनपुरमै छ । निर्मला प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीलाई सुन तस्करीको गोप्य सूचना प्राप्त भएपछि स्थानीय प्रहरीसँग समन्वय गरि कारवाही अघि बढाएको थियो ।

प्रतिक्रिया