असक्षम नेतृत्वका कारण समृद्धि अवरुद्ध भयो : बाबुराम भट्टराई

इनेप्लिज २०७५ फागुन २ गते ११:३१ मा प्रकाशित

लमजुङ, २ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको टिप्पणी गरेका छन् ।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुप¥यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुप¥यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं ।’

उनले हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाए । ‘कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?’, उनको प्रश्न छ ।

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने भट्टराईको तर्क छ ।
उनले वर्तमान सरकारले स्थानीय तहको अधिकार अहिले खोस्ने दुस्प्रयास गरिरहेको आरोप लगाए । ‘स्थानीय जनप्रतिनिधिले आफ्नो पाटी भनेर चुप नबस्नुस् । संविधानले दिएको अधिकार लिन यहाँहरुले भूमिका खेल्नैपर्छ,’ भट्टराईले भने, ‘जनतालाई कमजोर बनाउन खोज्ने नेताहरु लोकतन्त्रवादी हुन सक्दैनन् ।’

विकास र समृद्धिका लागि हाम्रोजस्तो देशमा केही रणनीतिक कुराहरुलाई जोड दिनुपर्नेमा उनको जोड दिनुभयो । उनले राष्ट्रिय प्राथमिकता बिर्सिएर सरकार भ्यू टावर र मूर्ति बनाउनतिर अल्झिएकोमा दुःख व्यक्त गरे ।

युवाको पलायन र बसाईंसराई रोक्न मध्यपहाडी लोकमार्ग सुरु गरिएको स्मरण गर्दै डा. भट्टराईले भने, ‘यसलाई सम्पन्न गरेर आसपास स्थानीय अर्थतन्त्रको विकास गर्न सके पहाडमा बसाईंसराई रोकिने मात्र होइन, युवाहरु विदेशिने क्रम पनि बन्द हुन्छ ।’ सरकार युवालाई स्वरोजगार बनाउनेभन्दा विदेश निर्यात गर्न तल्लीन रहनुलाई उनले बिडम्बनापूर्ण अवस्थाको रुपमा चित्रित गरे ।

प्रतिक्रिया