गोविन्द केसीसँग आजै वार्ता गर्न काँग्रेसको माग

इनेप्लिज २०७५ माघ १४ गते ११:४१ मा प्रकाशित

काठमाडौँ, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले आजै वार्ता गर्न माग गरेको छ ।

कांग्रेस सांसद राधेश्याम अधिकारीले राष्ट्रियसभाको आजको बैठकमा बोल्दै अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली बनाउन माग गरेका छन् ।

सांसद अधिकारीले अनसन लम्बिँदै जाँदा सरकार कुनै न कुनै विन्दुमा गएर निहुरिनुपर्ने भन्दै आजै वार्ता गरेर समस्याको निकास निकाल्न आग्रह गरेका हुन ।

चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सम्झौता विपरीतका प्रावधान राख्न लागेको भन्दै २० दिनदेखि अनसनमा बसेका डा. केसीको स्वास्थ्य खस्किँदै जाँदा पनि सरकारले एक जनालाई पनि वार्ताका लागि नपठाएको अधिकारीको भनाइ छ । संसदमा उनले भने, ‘डा. केसी जीवन मरणको दोसाँधमा पुग्दा पनि सरकारले वार्ताको कुनै पहल गरेको छैन ।’

सांसद अधिकारीले प्राध्यापक केदारभक्त माथेमा कार्यदलले गरेको सिफारिस लागू गर्न सरकारले कानुनी र नैतिक रुपमा प्रतिबद्धता जनाईसकेकाले त्यसबाट भाग्न नमिल्ने बताए ।

सरकारले विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने गरी डा.केसीसँगको सम्झौता तोडेको अधिकारी भनाइ छ । उनले भने, ‘सरकारको बुझिनसक्नुको विएण्डसी मोहकै कारण हामीले संसदमा विरोध गरेका हौं ।’

प्रतिक्रिया