बाध्यता एक कालखन्डको

इनेप्लिज २०७५ माघ १३ गते १६:०५ मा प्रकाशित

 


कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!

उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । ती सबैकुरा दुरुस्त मिलाउने जिम्मेवारी ‘ऐटन’ अथवा म बबुरो कप्तानको काँधमा ….. अनि त सक्किगो नि!

लडाईं झनझनै चर्कदैं थियो । हतास माओवादीहरु निहत्था जवानहरुलाई पनि छाड्दैनथे ।छुट्टीविदा जाँदा पनि मारिन वा अपहरणमा पर्नसक्ने भएकोले हेलिकप्टर बाहेक कसैलाई गाडी वा पैदल पल्टन छाड्ने आदेश थिएन। हेलिकप्टर आउने कुनै नियमित रुटिन पनि थिएन, आएको बेला हतार हतारमा लामो समय छुट्टी नगएका र गाह्रोसाह्रो परेका जतिलाई प्राथमिकता दिएर उडाउने काम मेरो भागमा पर्थ्यो ।लडाईंले थाकेका र लामो समय घर जान नपाएका थुप्रै हुन्थे।तैपनि अनुशासित जवानहरु, पाका र समझदार जे.सि.ओ. हरु र जोशिला अधिकृतहरुले भरिएको हाम्रो पुरानो र दरिलो पल्टनको हौसला उच्च थियो । मज्जाले लडिदैं थियो माओवादीहरुसंग उनीहरुकै आधार इलाकामा !

एड्जुटेन्ट भएतापनि अपरेशनल काममा मलाई कुनै छुट थिएन ।लडाईं लड्न भनेरै फौजको जिन्दगी रोजेको म पनि अरु अधिकृत सरह विभिन्न मिशनमा भोलुन्टियर गरेर समेत जान्थें।रातभर माडिचौरमा एम्बुस थापेर फर्केको एक बिहान आफ्नै बंकर अगाडी मुख धुँदैथिएँ, सुन्निएको आँखा टिलपिल पार्दै हवल्दार मेजर अघि लाएर ‘ए’ कम्पनीको सिपाही आईतराम टुप्लुक आईपुग्यो। हिंजो राति मसंगै एम्बुस गएर फर्केको सिपाहीको त्यस्तो हालत देखेपछि “के भो हँ आईते?” भनेर सोध्नै नपाई “बर्बाद भो ऐटनसाप……” भन्दै हिक्का छाडेर रुन पो लाग्यो पल्टनकै सबैभन्दा सोझो तर जोशिलो मध्येको सिपाही त!

धेरैसम्म नभेटेका टाढाका घरपरिवार, नातागोता र मायालुहरुसंग हाम्रो एकमात्र सम्पर्कसूत्र थियो – पल्टनको एकलाईन टेलिफोन।एकजनाले ‘हेलो’ भन्न नपाउँदै अर्कोले ठेल्न आउने गरी भीड लाग्थ्यो त्यो फोनमा। रेडियोमा कतै कोही सैनिक हताहत भएको खबर सुन्यो कि आफ्नालाई म आफू परेको होईन भन्न मासुको रुटिन परेको दिन भान्सामा भन्दा लामो लाईन लाग्थ्यो टोलीको, त्यो फोनमा पालो पाउन। सधैं व्यस्त रहने पल्टनको फोनमा अन्तबाट कल लाग्नु चिठ्ठा परेजस्तै हुन्थ्यो तर त्यो बिहान झ्याप्पै लागेको एउटा कलले रातभरको अनिंदो सिपाही आईतरामका लागि नराम्रो सम्चार ल्याएछ। उसको बुढो बाबु बितेछन् अनि एक्लो छोरो उसलाई काजकिरियाका लागि तुरुन्त घर आउनु भनेर साढे तीन घन्टाको बाटो हिंडेर जिल्ला सदरमुकाम पुगेको काकाको छोराले फोन गरेको रहेछ।

आठ सयको हाराहारी संख्याको फौजको म्यान म्यानेजमेन्टमा थरीथरीको समस्या पर्नेगर्छ र सम्बन्धित अधिकृतले समस्या अनुसार विभिन्न भूमिका निभाउनुपर्छ ।रुँदैगरेको आईतरामलाई पाको अभिभावक सरह सम्झाईबुझाई गर्दै सीधै अपरेशन रुममा गएर ब्रिगेड हेडक्वार्टरमा सम्पर्क गरें हेलिकप्टर मिल्छ कि भनेर । तर सबै हेलिकप्टरहरु पूर्वतिर व्यस्त रहेछन् माओवादीहरुसंग घमासान परेकोले ।मानविय आधारमा प्राथमिकता दिन मैले दोहोराएर गरेको अनुरोधमा “दुई दिन टाइम देउ भाई, म सक्दो कोशिस गर्छु, ओभर एन्ड आउट!”, खरिपाटी एकेडेमिमा क्याडेट हुँदाका मेरो कडा इन्सट्रक्टर र हाल ब्रिगेड अपरेशन अफिसर मेजरसाबको जवाफ आयो रेडियो सेटमा!

दुई दिन भयो तर हेलिकप्टर आएन।रुँदारुदा सिपाही आइतरामको बेहाल थियो । पैदल हिंडेरै घर जान्छु भनेर जिद्दी पनि गर्दैथियो तर पितृवियोगमा विरक्त उसलाई म जोखिममा पार्न चाहन्नथें । फौजमा इमान्दारीको ठूलो महत्त्व हुन्छ तर मातहतमा रहेको व्यक्तिको भलाईका लागि कहिलेकाहीं बेईमानी नै त नभनौं तर अलिकति चलाखी पनि गर्नुपर्छ। मैलेपनि त्यसै गर्ने कोशिस गरें आईतरामलाई बाबुको किरियाका लागि घर पठाउन। हतार हतार एउटा अति जरुरी मिशन प्लान गरियो फौज हेलिड्रप गर्नुपर्ने गरी ।त्यसकै लागि आउने हेलिकप्टरमा सिपाही आइतरामलाई घर उडाउने मेरो योजना थियो।तर पूर्वतिरको ठूलो अपरेशन अझ लम्बिने भएकोले हाम्रो मिशन स्थगित गर्नुभन्ने आदेश पो आयो ।

अब तेह्र दिनभित्र बाबुको काजकिरिया सक्नेगरी सिपाही आईतरामलाई घर पठाउन सम्भव रहेन।पल्टन मै काजकिरिया गर्नु बाहेक अरु विकल्प पनि थिएन ।बटालियन हेडक्वार्टर भन्दा केहि तल एकान्त ठाउँमा रहेको दूरसञ्चार संस्थानको कम्युनिकेशन टावर रहेको घरमा हाम्रो सुरक्षा पोस्ट थियो । ‘ट्याङ्गो’ पोस्टको त्यही चोखो ठाउँमा आईतरामलाई किरिया राख्ने र पल्टन कै पण्डित मार्फत् सबै विधि पुराउने आइडिया निक्ल्यो, अनुभवि सुवेदार मेजरले राम्रो संग तजबिज गर्नुभयो। बटालियन कमान्डरको स्वीकृति पछि सिपाही आईतरामले पहिलो पटक बाबुको किरिया सम्पन्न गरेको त्यो ठाउँ बिस्तारै किरियापुत्री घरमा परिणत भयो ।उसको जस्तै पीडाजनक अवस्था र परिस्थितिमा थुप्रै जवानहरु त्यहाँ आमाबाबुको किरिया बसे ।

अझैपनि आकाशमा हेलिकप्टर उडेको देख्दा, कहिंकतै कम्युनिकेशन टावर देख्दा सिपाही आईतराम सम्झिन्छु, उ र बाबुआमाप्रतिको अन्तिम दायित्व पूरा गर्न घर जान नपाई पल्टनमै किरिया सकेका जवानहरु र परिस्थिति झलझली सम्झिन्छु । अझै बेलाबेलामा उनीहरुलाई घर पठाउन नसक्दा आफूले महसुस गरेको पीडा बल्झिएर आउँछ । कतिले लड्‌डालड्‌डै ज्यान गुमाए, कति बाँचे तर अपाङ्ग भए र थुप्रैले सिपाही आईतरामले जस्तै र उनीहरुको कमान्डरको नाताले मैले जस्तै परिस्थिति भोगे – त्यो बाध्याता थियो हामीले भोगेको एक कालखन्डको । …र त्यो कालखण्ड उपज थियो खोई केका लागि हो शुरु भएर परारै..अन्त समेत भईसकेको एउटा युद्धको! ? ??❤️? क्रमश :

रबि मान सिंह बस्न्यात, पुर्व सेनानी, नेपाली सेना

प्रतिक्रिया