“अल्टिमेट आकाश” पुस्तक समिक्षा / अमेरिका /साहित्य र कला

- पूर्ण श्रेष्ठ २०७५ पुष २९ गते १५:२० मा प्रकाशित

सन्तोष लामिछानेको “अल्टिमेट आकाश” पढेपछि

– पूर्ण श्रेष्ठ

नेपालमा दोस्रो संस्करण प्रकाशनको तयारीमा रहेको सन्तोष लामिछानेको उपन्यास “अल्टिमेट आकाश” म्याडिसन, अमेरिकामा नेपाली अमेरिकी मैत्री सङ्घका वर्तमान अध्यक्ष पनि रहेका सन्तोष भाइले मलाई  एक प्रति उपहार दिएका थिए । विदेशमा हुनेहरूले यो किताब एमजोन डट कम बाट किन्न सक्दछन् ।

सन्तोषको पहिलो कृति “चामल खानेहरू र चौलानी पिउनेहरू” कबिता सङ्ग्रह पनि म्याडिसनमै मेरो अध्यक्षता हुँदा बिमोचन भएको थियो । नेपाली साहित्यप्रति सन्तोषको अनुरागसङ्ग यसरी पहिलेनै केही हदसम्म परिचीत मैंले “अल्टिमेट आकाश” भनेको मान्छेले जीवनको उत्तरार्धमा जीवन व्यतित गर्न रोजेको भूमि (देश) लाई भनेको होला भन्ने कौतुहलता लिएर पुस्तक अध्ययनको थालनी गरेको थिएँ ।

 

Ultimate Aakash v19 final copy.jpg

“अल्टिमेट आकाश”, उपन्यासकार: सन्तोष लामिछाने

प्रकाशक: समकालीन साहित्य प्रतिष्ठान, बेलायत /  ISBN: 978-9937050753

पुस्तक पढ्दै जाँदा अन्य धेरै कौतुहलता थपिदै गयो । एउटा हाइस्कुल पढ्दै गरेको केटो (विभास)-को लगनशीलता, मेहनत, महत्त्वकांक्षा र बाध्यताले डोर्याउँदा अध्ययनको लागि बिद्यार्थी बनेर अमेरिका आइपुग्छ । एउटै प्लेनमा उसको मिल्ने साथी लाक्पा र ऊ लस एन्जलस बिमानस्थलमा ओर्लन्छन् । त्यहाँबाट ती दुईको गन्तव्य अलग हुन्छ र छुटिन्छन् ।

एयरपोर्टबाट छुट्टिनेबेला विभासले लाक्पालाई भन्छ – “बुझ्यौ लाक्पा हामीले यहीँ अमेरिकामा बबाल प्रगति गर्ने हो ।” विभासको यो भनाई सुनेपछि मेरो मनमा थप कौतुहलता जाग्यो । यो नुनको पुतला समुन्द्रमा पौडी खेल्न आएको छ – पग्लन्छ कि ढडिन्छ । अर्को सोच फेरि आयो – यो घैटोमा रोपिएको विरुवाले आकाश छुन्छु पो भन्छ त । हेरौं अब के हुने हो ।

जब कलेज सुरु हुन्छ तब कलेज काम र पैसाको जोहो गर्नु पर्ने राप र तापले विभास पिल्सिएको महशुस हुन्छ । अन्तर्राष्ट्रिय बिद्यार्थी भएको कारण क्षमता अनुसारको काम गर्नबाटै बन्चित हुनु उसको लागि बडो पीडा थियोे । कलेजोको क्याफेटेरियामा, भारतीय सज्जनको भोजनालय र अब्दुलको पेट्रोल पम्प (ग्यास स्टेसन)-मा काम गर्दा विभासले विविध जिन्दगी देख्छ । अमेरिका भित्रको अनेक अमेरिका देख्दछ ।

अलग देशबाट आएका अलग ब्यक्तिहरूको संस्कार, पेशा, धर्म, चहाना, भाषा, अपराध रहनसहन खानपान अनि ब्यक्तिपिच्छेका फरक चरित्रहरू ग्यास स्टेसनमा काम गर्दा अनुभव गर्छ विभासले । आफ्ना देशकाहरू पराई भएका अनि पराई देशकाहरू आफ्ना भएका जिवन्त घटनाहरू यो उपन्यासमा समेटिएको छ ।

यो पुस्तक उपन्यास जस्तो पनि छ र आत्मकथा जस्तो पनि छ । यसमा अमेरिका, नेपाल दुबै समेटिएको छ । एक बिद्यार्थीले  “आफ्नै कथा” ठान्न सक्छ भने अन्य कोही ब्यक्तिले अन्य अवस्थामा मलाई पनि यस्तै भएको थियो भन्न विवश पार्छ – उपन्यास यथार्थताको धरातलमा गजधम्म उभिएको छ । उपन्यास विदेश पढ्न जाने सोच बनाउने युवाको र तीनका अभिभावकको बिशेष उपायोगी र हर कोहीले पढ्दा पनि रोचक, ज्ञानबर्धक र सन्देशमुलक छ । बिम्बहरू र प्रतीकात्मक भाषा धुरन्धर साहित्यीक उपन्यासमा भन्दा हल्का कम भएपनि सरल भाषामा गहन, उपयोगी र रमाइला प्रसंग उनेकाले यो उपन्यासको विशेषता त्यसैमा छ ।

लंका भन्ने देश सुनै सुनको सुन्दर भएपनि छोडेर सीतालाई लिएर राम अयोध्या फर्केका थिए । यस उपन्यासको मुख्य पात्र पनि ऎस आराम सम्पत्ति र अमेरिकाको आफ्नो प्रगति छाडेर नेपाल फर्किन्छ । मेरो कौतुहलताको जवाफ मैले पाएँ – उपन्यासको पात्रले “अल्टिमेट आकाश” को साक्षातकार आफ्नै जन्मभूमि नेपालमा गर्न सक्दो रहेछ – “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” भनेझैँ । अनि “अल्टिमेट आकाश” अन्तरमनको आकाश रहेछ ।

 

डिसेम्बर २५, २०१८

क्रिसमस डे

प्रतिक्रिया