बुधबार, माघ १२ २०७८
काठमाडौं ०४:२८
वासिङटन डिसी 17:43

गाउँको बहिर्गमन

दामोदर पुडासैनी किशोर २०७५ पुष २८ गते १२:३४ मा प्रकाशित

आफन्तहरूनै नभएपछि
बिरानो हुँदोरहेछ गाउँपनि

हिजो
बा आमाहरू हुनुहुन्थ्यो
जेठा बा कान्छा बा को परिबार पनि थियो
गाउँमा मेलापात ,नाचगान र ऐँचोपैँचो चल्थ्यो
असार ,मँसिर र पुस माघमा
अन्नले खेत सिँगार्ने
सल्लाह साउती र भारोपर्म चल्थ्यो
अचेल
कोहि भाउज्यूहरू शहरतिर
र, कोहि भाउज्यूहरू बिदेश हिँडेपछि
वरिपरि झाडी उमारेर
धुमधुमति टोलाएर बसेछ घर

आफन्तहरूनै टाढिएपछि
बिरानो बिरानो बन्दोरहेछ गाउँपनि

कहाँ गएहोलान् दाहाल ठूलो बा र पशुपते काका
कहाँ गएहोलान् ढकाल बाजे र फँएल हजुर बा
कहाँ गएहोलान् पलेल जिवा र झम्के काकाहरू
कता गएहोलान् घोले हजुर बा र भुलुँग दिदी
कता गएहोलान् च्याँबा बुढा ,पाकटे दाइ , लिम्बुनी भाउज्यू र डल्ली दिदी
ख्वै कता होलान् चाउरे काका,लुरी दिदी र मखमली दिदीहरू
कसैले बोक्दोरहेनछ शिबजीदाइ,ध्रुबदाइ र चमेली बज्यैको जस्तो भारी
आमाहरू,गोमा कान्छीमा ,सानुबाउ काका र चालिसे आमैलेजस्तो
खालिखुट्टाले चुरूम चुरूम तुसारो माडेर गोरेटो खन्ने पनि कोही रहेनछ अब गाउँमा

चिनेजानेकाहरू सकिँदै गएपछि
बिरानो बिरानो बन्दोरहेछ गाउँ

गाउँ अचेल
खाने अन्नको भन्दा बस्ने मुण्डाघरको पिरलोमा छ
गाउँ अचेल
जग्गा किनबेच , पाखो खार्ने र रेष्टुरेण्टको राग उचाल्ने दम्भमा छ
गाउँ अचेल
गाईको दूध बेचेर
बियर ,स्कच र क्वाइलर टोकेर
निरन्तर गाइरहेछ-
‘सालको पात टपरी हुनि नहुनि सल्लैको
तिम्रो माया कति छ कति नलाउ पछि हल्लैको ‘

गाउँबाट हराएछन्
कमेरो र रातमाटोले लिपेका घरहरू
रहेनछन्
सैँठेलो,दैलो र मझेरी लिपपोत गर्ने
भाउज्यू ,बुहारी र दिदी बहिनीहरू
कोही भेटिएन
अगेना वरिपरी बसेर
बिबाह,पास्नी ,न्वारान र अक्षरका कथा फलाक्ने वल्लाघरे र पल्लाघरेहरू

हामी दाज्यूभाइहरूले
आमा बुबाको पैतालाको धूलो निधारमा लगाइरहेको बेला
दुईचार जनाले माटोको ब्यापारको नाफा नोक्सान हेरिरहेथे
दुइचार जना सुमसुम्याइरहेथे मरूभूमितिर जाने पासपोर्टलाई
दुईचार जना भने घोप्टोपरिरहेथे मोबाइलमा
र झुण्डिरहेथे फेसबुक,यु ट्युब र च्याटको लहरहरूमा

गाउँमा पुराना बाटाहरू छैनन्
र पुराना बाटामा हिँडने आफन्तहरू पनि छैनन्
आफ्ना बाटा,पाटा र अलिकति सेकताप गर्ने मान्छेहरूनै नभेटेपछि
धुरूधुरू मननै रूवाउनेगरि बिरानो बन्दोरहेछ गाउँ

गाउँमा
आँगन ,पिढी ,बन ,बुट्यान र दोबाटो चौबाटो भेट्दा
झ्याम्म अँगालो हालेझै लाग्यो
गाउंका हजुरबा ,हजुरआमा ,काका काकी र दाइ भाउज्यू र दिदी बहिनीहरूले
स्याईँस्याँईँति चलेको बतासमा पनि सुनेझैँ लाग्यो
उहाँहरूकै सुस्केराहरू

आँगन , पाटा र बाटाका किनारहरूबाट कसैले बोलाउँदा भने
गाउँमा अझैपनि सँझना बिर्सनाका कोही त छन् भन्ने पनि लाग्यो

गाउँमा
धेरै धेरै फेरिएछन् बाटा र बासका स्वरूप
तर गाउँभित्रै हराउँदैरहेछन् गाउँका घरहरू
घर जत्तिको पनि भेटिँदोरहेनछ गाउँमा मान्छे

गाउँबाट
आफन्तहरूनै हराएपछि
बिलकुल बिरानो रूपमा पो उभियो
गाउँपनि आज मेरो सामु

हेर्नुहोस्
मजस्तै गाउँपनि
अचेल एउटा भूँमरीमा
फन्फनाइरहेछ

यही गाउंका
सबै अनुहारहरू जोडेर
एउटा नयाँ कोलाज सजाउँने
सुरसारमा छु म अचेल

मेरो गाउँको जस्तो सुगन्ध
मैले आजसम्म
सँसारमा कतै भेटेको छैन

म हरेक रात
गाउँको हरियो खोल्सीमा
गाउँका कोही न कोही प्रियजनसँग
गाउँकै बारेमा
कुरा गर्दै उकालो चढिरहेको सपना देख्छु
र,दिनदिनभर निसास्सिन्छु
शहरका दुर्गन्धी र धुले गल्छेडाहरूमा

-२०७५ पुस ७ गते शनिबार
जितपुर फेदी ,काठमाडौ

प्रतिक्रिया