पुसको चिसोमा अभियानकर्मी नदी किनारमा

इनेप्लिज २०७५ पुष २१ गते ९:२९ मा प्रकाशित

काठमाडौँ, २१ पुस : पुस महीनाको बिहान ७ बजेको चिसोमा उपत्यकाका नदी किनार र चक्रपथका विभिन्न स्थानमा मानिसको भीड हुन्छ । उपत्यकालाई स्वच्छ बनाउने उद्देश्यले अभियानकर्मी जाडोको परवाह नगरी स्वतःस्फूर्त सफाइमा जुट्ने गरेका छन् ।

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी अभियानकर्मीले २७ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको २९५औँ हप्तामा ललितपुरतिरको कुपण्डोल पुल मुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा वाग्मती सफाइको नेतृत्वकर्ता पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका–२ र १० एवं काठमाडौँ महानगरपालिका–११ का निर्वाचित जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

सफाइमा मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृतले डोको, मास्क, पञ्जालगायत सफाइ सामग्री उपलब्ध गराउनुभयो । सफाइमा २० संस्थाका ५०० अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको नदी सफाइको २५६औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नामी माकालबारी टोलअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–८ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारमा सफाइमा नआउन समेत आह्वान गरेको छ ।

कार्यक्रममा गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसेले सफाइमा नगरपालिकालाई नमूना बनाइने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले घरको फोहर नदीमा नफाले सभ्यताका स्रोतका रुपमा रहेका नदीलाई पुरानै अवस्थामा फर्काउन सकिने बताउनुभयो । सफाइमा मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाको सहभागिता थियो ।

रुद्रमती सफाइ अभियानको २५० हप्तामा रातोपुल–कालोपुल–मैतीदेवी मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइमा चीनका लागि नेपाली राजदूत पौडेलले वडाको नेतृत्वमा नदी एवं सार्वजनिकस्थलमा फोहर फाले कडा कारवाही गरिनुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० जना अभियानकर्मीको सहभागिता रहेको रोहित गिरीले जानकारी दिनुभयो ।
विष्णुमती सफाइ अभियानको २२२ हप्तामा तारकेश्वर–१० स्थित लोकतान्त्रिक चोक क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९७औँ हप्ताको सफाइ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा गरियो । तिलगङ्गा आसपासको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०५औँ हप्ताको सफाइ गरियो । सय भन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । यस्तै मनोहरा नदी सफाइको ९५औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा पूर्व मुख्य सचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, शहरी विकास सचिव रमेशप्रसाद सिंह लगायतको सहभागिता थियो । चक्रपथ सफाइ अभियानको ९१औँ हप्तामा सामाखुशी चोकबाट ग्रिनसिटी अस्पतालसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।

आलोकनगर सफाइको ९१औँ हप्तामा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारीता हुन सकेको छैन ।

प्रतिक्रिया