क्षेत्राधिकारभित्र रहेर न्याय सम्पादन गर्दा विवादमा परिन्न : माननीय न्यायाधीश ढकाल

सञ्जय साह मित्र २०७५ पुष ५ गते ११:४४ मा प्रकाशित

क्षेत्राधिकारभित्र रहेर न्याय सम्पादन गर्दा विवादमा नपरिने रौतहट जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश लेखनाथ ढकालले बताउनु भएको छ । रौतहटको गरुडा नगरपालिकाको न्यायिक समिति सचिवालय र न्यायिक इजलासको उद्घाटन गर्दै माननीय न्यायाधीश ढकालले नगरस्तरीय न्यायिक समितिको न्यायको सीमा भएको र कार्यविधिसमेत रहेकाले क्षेत्राधिकारभित्र रहेर निष्पक्ष तथा स्वतन्त्र भएर न्याय सम्पादन गर्न सुझाव दिनुभएको छ । न्याय सम्पादनको क्रममा आवश्यकतानुसार आफू सदैव सहयोगका लागि तयार रहेको माननीय न्यायाधीश ढकालले बताउनु भएको छ ।
गरुडा नगरपाकिलाका मेयर इन्नु राय यादवको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गरुडा नगरपालिकाले न्यायिक समिति गठन गरेर सर्वसाधारणलाई न्याय दिलाउन सफल प्रयास गरेको र अब सर्वसाधारण नागरिकले न्याय पाउने आशा व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर, राजदेवी नगरपालिकाकी उपमेयर अंशु सिंह, बौधीमाई नगरपालिकाकी उपमेयर प्रेमलत्ता कुशवाहा, यमुनामाई गाँओपालिकाकी उपाध्यक्ष गीतादेवी साह, रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुली, गरुडा नगरपालिकाका सम्पूर्ण वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरु, प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवी, संचारकर्मी, व्यावसायी, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै न्यायिक समितिका सभापति एवं गरुडा नगरपालिकाकी उपमेयर रंगिलादेवी जयसवालले न्याय क्षेत्रलाई स्वतन्त्र राखेर स्वच्छ तथा निष्पक्ष किसिमले न्याय सम्पादन गर्न र सबैलाई न्यायको प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नगरपालिकाको न्यायिक समितिलाई स्वच्छ, स्वच्छन्द र स्वतन्त्र राख्न प्रबुद्ध नगरबासीमा सभापति जयसवालले सहयोग गर्न आग्रह पनि गर्नुभएको छ ।

न्यायिक समितिमा उपमेयर जयसवालका साथे वडा नम्बर २ का वडाध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का वडाध्यक्ष रामेश्वर राय यादव हुनुहुन्छ । न्यायिक समितिको सचिवालयके सञ्चालनमा आएको र इजलासको पनि उद्घाटन गरिसकिएकोले विहीवारदेखि नै न्यायिक समितिको इजलास सञ्चालनमा आउने सभापति जयसवालले जानकारी गराउनु भएको छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया