काबेली करिडोर : वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति

इनेप्लिज २०७५ मंसिर १४ गते १२:०८ मा प्रकाशित

काठमाडौँ, मङ्सिर १४ गते । काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रसारण लाइनको क्षेत्रभित्र पर्ने रुख कटानको स्वीकृति दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । कूल १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड निर्माणका लागि स्वीकृति दिइएको हो । दोस्रो खण्डमा पाँचथर–तेह्रथुमखण्ड रहेको छ । सरकारले प्रसारण लाइनको क्षेत्रमा पर्ने टावर निर्माणका लागि तेह्रथुम र पाँचथरका क्रमशः २.९७ हेक्टर र ११.७० हेक्टर गरी कूल १४.६७ हेक्टर वन क्षेत्र प्रयोग गर्न लागिएको हो । ती क्षेत्रका कूल दुई हजार ७२२ रुखबिरुवा हटाउन स्वीकृति दिइएको छ ।

प्रसारण लाइन लामो समय स्थानीयवासीको जग्गा प्रयोग र वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्याका कारण समस्यामा पर्दै आएको थियो । स्थानीयवासीको अवरोधका कारण आयोजनाको म्याद पटकपटक थप गरिएको छ । आयोजनाको फिदिम जोरसाल खण्डमा जग्गा विवादकै कारण १४ वटा टावर निर्माणमा समस्या रहँदै आएको थियो । जग्गा प्रयोगसम्बन्धी विवाद समाधान भए पनि वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या समाधान भएपछि प्रसारण लाइन निर्माणले गति लिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कूल ४० किलोमिटर लामो दोस्रो खण्डको प्रसारण लाइनमध्ये दुई दशमलव आठ किलोमिटर क्षेत्रमा मात्रै तार तान्ने काम बाँकी रहेको छ । आगामी एक महीनाभित्रै वन क्षेत्रको जग्गा प्रयोगको काम सम्पन्न गरेर प्रसारण लाइनको बाँकी काम पूरा गर्ने तयारीमा लागेको आयोजना प्रमुख द्विवेदीको भनाइ छ । पछिल्लो पटक थपिएको समयसीमा आगामी माघ २४ सम्म रहेको छ । सो अवधिभित्रै निर्माण सम्पन्न गर्न प्रयास गरिने उहाँले बताउनुभयो ।

मेचीका पहाडी जिल्लामा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न उक्त प्रसारण लाइन निर्माण थालिएको हो । विगत पाँच वर्ष पहिल्यै निर्माण सम्पन्न गर्नुपर्ने कार्यसूची रहेको भए पनि विभिन्न समस्याका कारण अवरुद्ध हुँदै आएको थियो । झापाको लखनपुरदेखि इलामको गोदकसम्म ३४ किलोमिटरको काम यसअघि नै सम्पन्न भएको हो ।

विश्व बैंकको रु दुई अर्ब ५८ करोड ४० लाख सहयोगमा आयोजना निर्माण भइरहेको हो । दमकदेखि पाँचथरको अमरपुरसम्म ९० किलोमिटरमा १३२ केभी डबल सर्किट लाइन निर्माण हुनेछ । लखनपुर, गोदक, पाँचथरको थापाटार र अमरपुरमा समेत सवस्टेसन तयार भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो प्रसारण लाइन निर्माणमा विशेष चासो राख्दै आउनुभएको छ । उहाँले दैनिकजसो नै प्रसारण लाइनको कार्यप्रगतिका बारेमा जानकारी राख्दै समस्या समाधानमा समेत सक्रियता देखाउनुभएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ ।

प्रसारण लाइन निर्माणकै क्रममा रहेको भए पनि ‘काबेली बी १’ आयोजनाले भने आगामी एक महीनाभित्र परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । आयोजनाका निर्देशक कुबेरमणि नेपालका अनुसार आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ ।

सो आयोजनाको क्षमता २५ मेगावाट रहेको छ । उत्पादित विद्युत् थापाटारमा रहेको सवस्टेशनमा जोड्ने तयारी गरिएको छ । यस्तै सोही करिडोरमा माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया