चितवनको सौराहामा देशभरका न्यूरोसर्जन डाक्टरहरुको भेला, प्रविधि र अनुभव साटासाट मुख्य उद्देश्य – वरिष्ठ डा. भट्टराई

शिशिर सिंखडा २०७५ मंसिर ८ गते १२:३१ मा प्रकाशित

सौराहा, चितवन, ८ मंसिर ।

चितवनको सौराहामा देशभरका न्यूरोसर्जन डाक्टरहरुको भेला भएको छ । न्यूरो सर्जरी र स्पाइनल सर्जरीसँग सम्बन्धित विशेषज्ञ एवम् डाक्टरहरुको सो भेलामा उपचार पद्दतीमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य रहेको थियो । उपचारमा पनि नयाँ नयाँ प्रविधिहरुको विकास भएको छ भने उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्दा पनि धेरै कुराहरुको जानकारी हुने भएकोले यसप्रकारका कार्यक्रम राखिएको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका न्यूरो सर्जरी डिपार्ट प्रमुख वरिष्ठ न्यूरोसर्जन डा. बिनोद भट्टराईले जानकारी दिए ।

स्पाइनल र न्यरो सर्जरी डाक्टरहरुको यस अगाडि पनि यसप्रकारका भेला एवम् भेटघाट हुने गरेको भन्दै डा. भट्टराईले सिनियरले जुनियरलाई सिकाउने र साथीत्वको विकासमा पनि यसप्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । काठमाडौं, बुटवल–भैरहवा, बीरगञ्ज र भरतपुरका सहित २० भन्दा बढी वरिष्ठ न्यूरोसर्जन तथा स्पाइनलसर्जनहरुको उपस्थिति रहेको कार्यक्रममा करिव ६० जना डाक्टरहरुको सहभागिता रहेको थियो ।

न्यूरो सर्जरी डिपार्ट, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पूरानो मेडिकल कलेज) भरतपुरको आयोजनामा सौराहामा शुक्रबार साँझ भएको कार्यक्रममा सो अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. सोमराज लामिछानेले मेरुदण्ड र न्यूरो सर्जरीको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए । न्यूरो सर्जरी र मेरुदण्ड सर्जरीको विभिन्न तरिकाको बारेमा उनले आफ्नो अनुभव साटासाट गर्दै आफ्ना भनाइ समेत राखेका थिए । विभिन्न चोटपटकबाट हुन सक्ने टाउको र मेरुदण्डको समस्या, जन्मजात समस्या, टाउकोको ट्युमरको उपचारको सन्दर्भमा उनले आफ्नो अनुभव बताएका थिए । साथै उनले हाल प्रविधिमा भएको विकास र अनुभवको साटासाटले जटिल भनिएको न्यूरो र मेरुदण्डको सर्जरीमा थप सहयोग मिल्ने समेत बताएका थिए ।

कार्यक्रममा क्रिम्सन हस्पिटल बुटवलका वरिष्ठ न्यूरोसर्जन डा. के आई सिंह केसी, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका रेडियोलोजी विभाग प्रमुख वरिष्ठ डा. हरि रानाले पनि कार्यपत्र सहित आ–आफ्ना भनाइहरु राखेका थिए । सो अवसरमा अन्नपूर्ण न्यूरो हस्पिटल काठमाडौंका वरिष्ठ न्यूरोसर्जन डा. वसन्त पन्त, त्रिभुवन विश्वविद्यालय टिचिङ्ग अस्पताल महाराजगञ्ज काठमाडौंका वरिष्ठ न्यूरोसर्जन डा. गोपाल सेढाईले पनि आ–आफ्ना अनुभव र प्रविधिको विषयमा मन्तव्य व्यक्त गरेका थिए । देशभरका न्यूरोसर्जनहरुको संस्था नेशनल सोसाइटी अफ न्यूरोसर्जनमा आवद्ध डाक्टरहरुको सहभागिता रहेको कार्यक्रममा उनीहरुले आ–आफ्नो अनुभवहरु साटासाट गर्न पाउँदा र नयाँ पुस्ताका डाक्टर एवम् यसै विषयमा अध्ययनरत विद्यार्थीहरुले अनुभव साटासाट गर्दा न्यूरो सर्जरी र मेरुदण्ड सर्जरीको उपचारमा थप सहज हुने समेत सहभागीहरुको भनाइ रहेको थियो ।

 

प्रतिक्रिया