जुम्लामा १७ करोडको स्याउ उत्पादन

इनेप्लिज २०७५ मंसिर ७ गते १२:०७ मा प्रकाशित

खलङ्गा, मङ्सिर ७ गते । जुम्लामा यो वर्ष झण्डै १७ करोडको स्याउ फलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष झण्डै १७ करोड स्याउ उत्पादन भएको हो ।
उत्पादित स्याउमा किसानले पाएको मूल्य प्रतिकेजी ५० अनुसार १७ करोड स्याउ उत्पादन भएको सुपरजोन कार्यालयका कृषि अधिकृत जोगेन्द्र कान्तले बताउनुभयो ।
वरिष्ठ कृषि विकास अधिकृत टीकाराम शर्माका अनुसार किसानले बगैँचामा पाएको मूल्य नै रु. ५० भएअनुसार १७ करोड पुग्ने बताउनुभयो । उहाँका अनुसार त्योभन्दा बढी पनि मूल्यमा स्याउ बिक्री भएको छ । जुम्लाको ३० प्रतिशत स्याउ जिल्लामै रहेकाले जुम्लामा एक सय रुपियाँभन्दा बढी भएको अनुमान गरिएको छ । साविक जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार निर्यात भएको र यो वर्ष हावाहुरी र असिनाले स्याउका फूल नष्ट भएका कारण समस्या भएको बताउनुभयो । जुम्लामा उत्पादन हुने रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेनसहितका विभिन्न स्याउसहित यो वर्ष इटालिएन फुजी जातका स्याउका बिरुवा उत्पादन भएको र तीन हजार केजीभन्दा बढी फलेको कार्यालयले जानकारी दिएको छ ।
निर्यात बढ्दो
जुम्लामा उत्पादन हुने स्याउ निर्यात र बजारीकरणको चटारो बढिरहेको छ । भदौबाट कात्तिक अन्तिमसम्म दुई हजार ३५० टन स्याउ निर्यात भएको स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।
स्याउ सुपरजोन कार्यालयका कृषि अधिकृत जोगेन्द्र कान्तका अनुसार जिल्लाभरि प्रतिहेक्टर ६ मेट्रिकटन स्याउ उत्पादन भएको अनुमान छ तथापि अन्तिम तथ्याङ्क सङ्कलन भइरहेको छ । कृषि अधिकृत कान्तका अनसार भदौ ७ देखि असोज पहिलो सातासम्म जुम्ला र कालीकोटको सिमानामा रहेको नाग्म प्रहरी चौकीमा बाहिर निर्यात तथा दर्ता गराएको रिपोर्टअनुसार २५० व्यापारीले स्याउ निर्यात गरेका छन् ।
स्याउ सुपरजोन जुम्लाका प्राविधिक खेमराज शाहीका अनुसार अहिले स्थानीय तहबाट सिफारिस गरेर लिने भएकाले कतिपय व्यापारीले दर्ता नगरेरै स्याउ लिने गरेकाले निर्यात तीव्र रूपमा भइरहेको बताउनुभयो । यो वर्ष तीन हजार पाँच सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो ।
एकातिर व्यापारको क्रममा जिल्ला बाहिर लिने स्याउ निर्यात धमाधम भइरहेको छ भने अर्कोतिर जुम्लाबाट यो सिजनमा झर्ने हरेक व्यक्तिले कम्तीमा पाँचदेखि १० केजी स्याउको झोला बोेकेर हरेक यात्रु जाने गरेका छन् ।
सरकारले यहाँका स्याउ किसानको स्तरवृद्धि र आवश्यक प्रविधिका लागि भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यक्रम शुरु गरेको छ । तर जुम्लाभरि सुपरजोन कार्यक्रमको माग बढेको छ ।

प्रतिक्रिया