रौतहटमा हतियारसहित दुईजना पक्राउ

सञ्जय साह मित्र २०७५ मंसिर ४ गते ७:३५ मा प्रकाशित

रौतहटमा हतियारसहित दुईजना पक्राउ परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका १ बागमतीमा मेला भर्न गएका महिलाहरुलाई हतियार देखाई तर्साउने दुई युवकलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेका छन् । मेला भर्न गएका महिलाहरुलाई दुई युवकले तर्साउन थालेपछि स्थानीयले नजिकैको प्रहरी चौकीलाई खबर गरेका थिए । प्रहरी चौकी पौराई बागमतीबाट खटिएर गएको प्रहरीको टोलीले घेरा हाली दुई युवकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गुजरा नपा १ का ३१ वर्षका विशाल धामी र त्यहीँकै २० वर्षका मुन्ना धामी रहेका छन् । दुवैजनाबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि केदार ढकालले जानकारी गराएका छन् ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया