वामदेव संसदलाई आवश्यक्ता छ, ल्याउन पहल गर्छुः झलनाथ खनाल

इनेप्लिज २०७५ मंसिर १ गते १०:५८ मा प्रकाशित

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले संसदमा वामदेव गौतमको उपस्थिति अनिवार्य रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान कुरा गर्दै खनालले वामदेवलाई संसदमा ल्याउन आफूले पहल गर्ने बताए । ‘वामदेव गौतम भनेका व्यक्ति संसदलाई आवश्यक छ’, उनले भने, ‘म वामदेवको पक्षको मान्छे हुँ । उहाँलाई ल्याउन म कुरा गर्छु ।’

वामदेवलाई रोक्न विभिन्न खेल भएको भन्दै नेता खनालले पार्टीभित्र अब सहमतिका साथ अगाडि बढ्ने बताए ।

नेकपाका नेता खनालले केन्द्रीय सचिवालयको बैठक छिटो बोलाउन अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग माग गरे ।

‘पहिला सचिवालयको बैठक राखौँ । त्यसपछि स्थायी समितिको बैठक राखौँ’, उनले भने, ‘दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएको पनि धेरै भैसक्यो । जिम्मेवारी बाँड्नुपर्छ ।’ नेकपालाई क्रियाशील बनाउनुपर्ने उनले बताए ।

इजराइलका लागि नेपाली राजदूतमा अञ्जान शाक्यलाई सरकारले सिफारिस गरेको विषयमा नेता खनालले भने, ‘राजदूतमा सिफारिस भएको बारे मलाई थाहा छैन । पार्टीमा छलफल भएको छैन ।’

प्रतिक्रिया