पूर्वी क्षेत्र महोत्सवको तयारी पुरा, शुक्रबार महोत्सव भव्य रुपमा उद्घाटन हुँदै

इनेप्लिज २०७५ कार्तिक ३० गते १२:०८ मा प्रकाशित

रत्ननगर, चितवन २९ कार्तिक ।

पूर्वी चितवनको रत्ननगर ४ शान्तिचोकको खुल्ला चौरमा हुने पूर्वी क्षेत्र महोत्सवको तयारी पुरा भएको छ । एन.एस. क्रियशन एण्ड इभेन्टस् प्रा.लि. र लायन्स क्लव अफ चितवन राइनो सीटीको सयुक्त आयोजनामा शुक्रवार देखि हुने ‘पूर्वी क्षेत्र महोत्सव’ पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् । सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल समारोह समितिका संयोजक निरज श्रेष्ठले जानकारी दिए ।

महोत्सवको अवसरमा पूर्वी चितवनको रत्ननगर बजार सिंगारिएको छ । महोत्सव सुरु हुनु पूर्व विहान रत्ननगर नगरपालिका परिसरबाट शोभायात्रा निकालिने छ । शोभायात्रा रत्ननगर बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगेर औपचारिक कार्यक्रम सुरु हुनेछ । महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त महोत्सवबाट भएको आम्दानीले क्लबले शव बहान खरीद गरी सञ्चालन गर्ने, पूर्वी क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक श्रेष्ठले बताए ।

चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समितिका संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवमा ३०० वटा स्टल रहेको उनले जानकारी दिए । स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव अवलोकन गर्नेहरुले रत्ननगर ११ जिरौना स्थित धर्मधाम घुम्न चाहेमा सोको समेत व्यवस्था मिलाइएको छ । महोत्सवको अवसरमा अवसरमा विभिन्न सामाजिक अभियान सञ्चालन गरी सामाजिक कार्यमा योगदान गरेका अभियन्ताहरुलाई सम्मान समेत गरिने लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए । महोत्सवमा कलाकारहरु शिव परियार, मेलिना राई, बद्रि पंगेनी, राजनराज सिवाकोटी, प्रिती आलेमगर, बविता जेरी, बलराम सरकारको जादु लगायतको प्रस्तुती हेर्न पाउने छन् । सो अवसरमा लायन्स क्लवहरुको तर्फबाट निशुल्क स्वास्थ्य शिविर, लायन्स क्लवहरु बिच डोरी तान्ने प्रतियोगिता लगायतका विभिन्न खेलकुदहरु समेत आयोजना गरिने क्लवका अध्यक्ष सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया