बुधबार, माघ ५ २०७८
काठमाडौं १६:२४
वासिङटन डिसी 05:39

सामाजिक सद्भाव बढाउँदै छठ

इनेप्लिज २०७५ कार्तिक २७ गते १५:५१ मा प्रकाशित

कार्तिक महिना मन्द जाडोसँगै नेपाली जनमानसमा छुट्टै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । यो तिहारको साथै महान् पर्व छठ व्रतको महिना हो । पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो । अहिले यो पर्वले राष्ट्रिय स्वरूप ग्रहण गर्दै आएको छ । राजधानीसहित देशका अधिकांश भागमा चार दिनसम्म छठ पर्वको रंगमा रमेको हुन्छ । घरबाहिरको सरसफाइदेखि सात्विक भोजनसम्म यो पर्वको विशेषता हो । उँच–नीच, धनी–गरीब, जातपात, छूवाछूतको केही स्थान रहँदैन यस पर्वमा ।

छठ मूलरूपमा कात्र्तिक शुक्ल षष्ठीको दिन मनाइने पर्व हो । यो सूर्य उपासनको महान पर्व हो । सूर्य पूजाको परम्परा प्राचीन र विश्वव्यापी छ । नेपाल, भारतका साथै बेबिलोन, युनान, मिश्र, जापानलगायत थुपै्र देशमा सूर्य उपासनाको परम्परा पाइन्छ । सूर्यको उपासना आरोग्य, आयुष्का लागि पनि गरिन्छ । साथै, यस पर्वको व्रत बसेमा चर्मरोग निदान हुन्छ भन्ने मान्यतासमते पाइन्छ । धार्मिक, पौराणिक आख्यानहरूमा सूर्य उपासनाको उल्लेख पाइने गरेको छ । महर्षि अत्रिकी पत्नी अनसूयाले आफ्ना पतिको दीर्घायु, गहिरो दाम्पत्य पे्रम र अटल सौभाग्यका लागि षष्ठीव्रत गरेकी थिइन् ।

महाभारतका उल्लिखित ऐतिहासिक वृतान्त अनुसार पाण्डवहरूको अज्ञातवास सफल होस् भन्ने कामनाका साथ दौपद्रीले सूर्यदेवको अराधना गर्दै षष्ठीव्रत गरेकी थिइन् । महाभारतकौ अर्को प्रसंग अनुसार एकपटक साम्बलाई असाध्य कुष्ठरोग लाग्यो । उनी यो रोगले गर्दा निकै पीडित भए । यस रोगबाट राहत पाउन उनले विभिन्न उपाय गरे तर केही सिप लागेन । अन्ततः भगवान् सूर्यको आराधना गरेपछि उनी यस असाध्य रोगबाट मुक्त भएका थिए ।

यसरी पुत्र प्राप्ति, दाम्पत्य पे्रम, सन्ततिको दीर्घायु र आफ्नो अटल सौभाग्यका लागि प्राचीन समयदेखि अहिलेसम्म पनि छठ पर्वमा सूर्यको आराधना÷उपासना गरिदै आएको पाइन्छ । अहिले यो पर्वले आफ्नो महिमा र गरिमाका कारण निकै विस्तार पाएको छ । पहिले तराईको भोजपुरी र मिथिला क्षेत्रको मात्र यो ठूलो चाड थियो । अहिले राजधानी काठमाडौंलगायत विराटनगर, धरान, बुटवल, पोखरा, नेपालगञ्ज जस्ता ठूला शहरमा पनि यो पर्व धुमधाम र निष्ठापूर्वक मनाइन्छ । काठमाडौंमा छठ पर्व मनाउने परम्परा २०५० साल देखि आरम्भ भयो । अधिवक्ता राजीव सिन्हा भन्छन् अहिले जस्तो सामुहिक छठ मनाउने चलन काठमाडौंमा थिएन । दुई चार जना घाटमा देखिन्थे । गुह्ेश्वरी घाटमा आठ दश जना परिवार छठ पूजाको लागि उपस्थित हुन्थे तर बादरहरूको उपद्रवले छठ व्रतीहरुको धेरै दिक्क हुनुपथ्र्यो किनकि बादरहरु प्रसादहरु उठाएर भाग्दथे । अधिवक्ता सिन्हा भन्छन् हामीले संगठितरूपले छठ मनाउनको लागि युवा संघ गठन गरेका थियौ । छठ घाटमा ठूला राजनेताहरुको आमन्त्रित गर्दथ्यौ । मिडियाहरुलाई पनि आमन्त्रित गर्दथ्यौ । ठूला नेताको आगमन हुन्छ भन्ने थाहा पाएपछि मिडिया विशेषकर टेलिभिजनले छठ को दृश्यहरु समाचारमा देखाउन थालियो तत्पश्चात् काडमाडौंवासी विशेषगरी पहाडी समुदायमा छठ पूजाको महिमा र गरिमा थाहा हुँदै गयो । त्यतिबेला छठ मनाउने ठाँउहरुमा थापाथली, टंकेश्वेरी, गुह्ेश्वरी र बाग्मती थिए । रानीपोखरीको छठ व्रतालुहरुको लागि खोल्नको लागि नगरपालिका तयार हुँदै थिएन । पोखरी खोल्नको लागि एउटा समिति बन्यो म सहित तराई सास्कृतिक संस्थाका युवाहरुले धेरै प्रयास ग¥यौ । राजनीतिक सिफारिश पछि अनुमति पायो । पछि रानीपोखरी छठ व्रतालुहरुको प्रमुख केन्द्र बन्दै गयो । चार दिनको यो पर्वमा नदी, किनार, तलाउ, पोखरीको आसपास सरसफाइ र उज्यालोको व्यवस्थासहित आकर्षक बनाउने गरिएको छ ।

छठमा व्रत बस्ने आफ्नै विधि–विधान छ । यो व्रतको विधान पवित्र र कठोर छ, जसको श्रद्धा, निष्ठा, विश्वास र आस्थापूर्वक पालना गरिनुपर्छ । छठको व्रत बस्ने (व्रती) ले कात्र्तिक महिनाको शुरुदेखि नै माछा, मासु, लसुन, प्याज, मदिरा, आदि तामसी भोजन त्याग्नुपर्छ । तिहारको चौथो (चौठी) को दिन ‘अरवा अरबाइन’ वा ‘नुहायखाय’ भनिन्छ । यही दिन नुहाइधोइ गरेर व्रतीले शुद्ध भाँडामा सफा र भान्साघरमा भोजन पकाएर खान्छन । पञ्चमी तिथि अर्थात् खरनाको दिन व्रतीले दिनभरि उपवास बसी साँझपख माटोको नयाँ चुलो र चोखो भाँडोमा सख्खर हालेर खीर, रोटी पकाइन्छ, जसले चन्द्रोदय भएपछि छठी माताको पूजा अर्चना गरेर नैवेद्य तथा प्रसाद चढाँउछन् । त्यही खीर प्रसादको रूपमा आपूmले लिने, आफन्त र अन्यलाई दिने गरिन्छ ।

खरनाको भोलिपल्ट अर्थात् षष्ठीको दिनलाई यस व्रतको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । यस दिन व्रतालु दिनरात निर्जला उपवास बस्छन् । षष्ठीको दिनलाई सझियाघाट भनिन्छ, व्रतालु र श्रद्धालु भक्तजन पूजा सामग्री लिएर नजिकको नदी, पोखरीको किनार पुगेर सूर्यलाई अर्घ प्रदान गर्छन । अर्घमा भाकल अनुसार माटाको ढकनी, नाङ्लो, सूर्य बाँसको छैयटी आदिमा ठकुवा, खजुरी, पेरुकिया आदि छठका प्रमुख पकवान र केरा, नरिवल, उखु, अदुवा, पान, कागती, सुन्तला, बेसारको गाँठी, सुठुनी आदि मौसमी फलपूmल चढाएर धूपदीप गरी भगवान् सूर्य देवतालाई चढाउने परम्परा छ । व्रत बस्नेहरू नयाँ रातो वस्त्र धारण गरी कम्मरसम्मको पानीमा बसेर अस्ताउन लागेका सूर्यलाई हात जोडेर भक्ति र निष्ठाले पूजा अर्चना गर्ने गर्छन् । सूर्य अस्ताउन थालेपछि कतिपय व्रतालु र श्रद्धालु रातभरि घाटमा बसेर छठीमातालाई सम्बोधन गरी गीत गाउँछन । जस्तै–

उ जे काँच ही बाँस के दउरवा,
दउरा लचकत जाय
उ जे बाट ही पुछले बटोहिया,
ई भार केकरा ही जाय
तू त आन्हर होइबे रे बटोहिया,
ई भार छठीदेई का जाय

छठको महँगो पूजा लिएर भाइ र बहिनीबीचको संवादरूपी छठी गीत गाउने प्रचलन छ । बहिनी भन्दछिन्–
अपने त जाई छ भइया,
अयोध्या नगरिया,
हमरा लागी लइह हे भइया
गेहुवा सनेसवा ।
भाई महँगीले आफ्नो बाध्यता सुनाउँदै बहिनीसँग यसरी अनुरोध गर्दछन्–
अयोध्या नगरिया गे
बहिनी बडा हइ महँगी
छोडी देहु गे बहिनी
छठ के वरतीया ।
बहिनी भन्दछिन्–
अइसन न बोलीह हे भइया,
कहीयो न बोलीह
भीखी दुःखी मागी हो भइया,
करबई छठी के वरतीया ।

सप्तमी तिथिका दिन पुनः अघिल्लो दिनको जस्तै स्नानादि गरी नयाँ वस्त्र धारण गरेर पुनः घाटमा पुगी उदीयमान सूर्यलाई अर्घ दिएर पूजा अर्चना गरी व्रत समाप्त गरिन्छ । छठको प्रसाद भक्तालु र श्रद्धालुले निकै श्रद्धाभावले ग्रहण गर्छन । षष्ठीको साँझ र सप्तमीको बिहान अर्घ दिने बेलामा घाटको दृश्य अति रमणीय र मनमोहक हुन्छ । यस व्रतमा आर्थिक, सामाजिक, धार्मिक दृष्टिले भेदभावको कुनै स्थान रहँदैन । आर्थिक दृष्टिले कमजोर भएकाहरुलाई स्वतः स्पूर्mत रूपमा व्रतका आवश्यक सामग्री उपलब्ध हुँदै जान्छन् भन्ने जनविश्वास छ तर त्यसका लागि पूर्ण विश्वास र श्रद्धाभाव आवश्यक पर्छ ।

यो समस्त जातजातिले मनाउने पर्व पनि हो । समानरूपमा एउटै पोखरी या जलाशयको किनारमा सूर्यको पूजा गर्ने चलन जातिय समन्वय र सद्भावको जलन्त उदाहरण हो । हिन्दु वर्ण व्यवस्था अन्तर्गत जातीय छुवाछुत र भेदभाव आज पनि हाम्रो समाजमा एउटा कलंकको रूपमा यथावत् छ तर यस पर्वमा डोमबाट बनाएको डलिया, कुम्हारबाट बनाएको माटोको भाँडा–दियाको पनि पूजामा श्रद्धापूर्वक उपयोग हुन्छन् । जसले यस पर्वमा सबै समुदायको समान सहभागिताले सामाजिक सद्भाव र सामञ्जस्यको सन्देश दिन्छ । यस पर्वमा पुरोहित, पण्डित र पुजारीहरुको केही स्थान हुदैन । यो पर्व महिमाले यस पर्वको राष्ट्रिय पर्वको स्वरूप दिएको छ । दशैं पर्व जस्तो छठपर्व पनि विशेष धूमधामका साथ मनाइन्छ । पहाड, तराई, र राजधानी समानरूपमा मनाइने छठपर्वले सबैको जीवनमा समानता, एकता, सह–आस्था र बन्धुत्वभावको विकास गरेको पाइन्छ ।

वीणा सिन्हा
सम्पादक
द पब्लिक

प्रतिक्रिया