अमेरिकामा लामो चाडवाड र बढ्दो भोजभतेर कार्यक्रमबाट महिलाहरु तनावमा

प्रकाश श्रेष्ठ २०७५ कार्तिक २६ गते १:२२ मा प्रकाशित


“सपनाको देश अमेरिका त्यसै भनिएको रहेन्छ, बर्षभरि उत्सवै उत्सव मनाउने सपना पनि पुरा हुने रहेछ “ तर उत्सव मनाई रहदाँ परिवारमा पर्ने विभिन्न असुविधा बुझ्न र बुझाउन त्यति सजिलो रहेन्छ भन्दै एकजना दिदीले केही दिन पहिला भन्नु भएको भनाईले एकपटक सोच्न बाध्य बनायो । यसो त केही समय पहिला पनि एकजना दिदीले फेसवुकमा मेसेज पठाउँदै भन्नु भयो “ भाई हजुरले एउटा समसमाहिक आवाज आर्टिकलको रुपमा लेखिदिनु पर्यो किनकी आजकल यो बाल्टिमोरमा लेटनाईट मदिरा पार्टी र तीजको दर खाने र नाँच्ने कार्यक्रम ३ महिना सम्म लगातार चलिरहने र अन्य चाडवाडका कार्यक्रम पनि लामो समय सम्म चलिरहदाँ अनि त्यसको साथमा मदिरामा सबै झुमिरहदाँ खासगरि हामी जस्ता गृहिणी महिलाहरुलाई निकै समस्या परेको छ किनकी राती १-२ बजे सम्म पार्टी चल्ने, बिहान सवेरै बच्चाहरुलाई स्कुल पठाउनु पर्ने, काममा जानु पर्ने लगायत काममा निकै समस्या हुने हुन्छ । रातभरि भोज गर्न आवस्यक सम्पुर्ण तयारी देखि खानपिन, नाँचगान गरिसकेपछि पाहुनाहरु विदावादी भएर गएपछि सरसफाई लगायतका काम गर्नु पर्ने भएकोले दैनिकी निकै गारो भएको छ तर यसबारे कसले बुझिदिने ? लोग्ने मान्छेहरु साथीभाईहरु जम्मा गरेर पार्टी गरेर आफ्नो प्रतिष्ठा बढेको संझिन्छन् तर हामी महिलाहरुलाई पर्ने समस्या, असुविधा उनीहरुले कहिले बुझ्ने ?”

यी दुई दिदीहरुको कुरा सुन्दा यो स्तम्भकार आफैले पनि एकपटक सोच्न बाध्य भयो। यद्दपी यो स्तम्भकारले खासै घरमा पार्टी, उत्सव पनि नमनाउने र मनाई हाले पनि मात्तिएर मदिरा नखाने( खादै नखाने भनेको हैन लिमिटले मात्र खाने( आफुलाई संहाल्न सक्ने गरि ) तर यी माथी उल्लेख गरिएका भनाईले हामी पुरुष भनि पुरुषार्थ देखाउनेहरुलाई भने सोच्न बाध्य बनाएकै छ । हामीले गर्ने हरेक गतिविधीले हाम्रो परिवार, छिमेक, समुदायलाई के कस्तो प्रभाव पार्छ सोच्नु जरुरी छ । अर्को तर्फ चाडवाड, पर्व, उत्सव मनाउने नाममा तडकभडक एवं दैनिकजसो आलोपालो घरमा पार्टी, सामुहिक पार्टी, हरेक नाम एवं खुशियालीमा भड्किलो पार्टी र त्यसमा पनि विशेष मदिरा पार्टीले हाम्रो दैनिकी पनि अस्तव्यस्त हुनसक्ने देखिन्छ भने दैनिक रुटिन देखि बालबच्चाहरुको पढाई देखि बढ्दो खर्चले वचत कम हुने, भविष्यको लागी वचत र लगानी भन्दा पनि जसोतसो कमाउने अनि मोजमस्तीमै दिल खोलेर खर्च गर्ने प्रवृती विकाश हुने देखिन्छ । साथै कलिला बालबच्चा देखि स्कुल कलेज पढ्ने युवायुवतीहरुले पनि देखासिकी गर्ने, त्यस्तै उनीहरुलाई मदिरा एवं धूम्रपान गर्न परिवार वा समुदायले प्रोत्साहित गरे झै हुने देखिन्छ । यसले के हुन्छ भने केही छिन र केही दिन रमाईलो गर्दा धेरै तिर प्रतिकूल असर परेको हुन्छ ।

यस्तो प्रभाव प्रति अझै पनि नेपाली महिलाहरु खुलेर आफ्ना श्रीमानसँग विरोध गर्न सकिरहेका छैनन् र विरोध गरेपनि उनीहरुले वेवास्ता गर्दै आफ्नो रवाफ देखाउन छाडेका छैनन् । त्यसो त आजकल महिलाहरु समेत चाडवाडप्रेमी आफै बन्दै गएका छन् भन्ने पनि देखिन्छ त्यसको ज्वालान्त उदाहरण २-३ महिना लगातार आलोपालो गरेर तीजमा दर खाने, नाँच्ने, भोजमा रमाउने अनि विभिन्न समुहको नाममा फेरि सामुहिक तिजको दर खाने, नाँचगान गर्ने कार्यक्रम पनि राख्ने गरेकोलाई लिन सकिन्छ । यसको मतलब तिज नमनाउने वा अन्य चाडवाड नमनाउने भन्ने अर्थ होईन तर समय सिमा एवं चाडवाड मनाउने शैलीमा खर्चिलो र तडकभडक चाहिने भन्दा बढि नगर्दा राम्रो हुन्छ भन्ने मात्र हो ।

यति मात्र होईन आजकल प्राय हरेक शनिवार र आईतवार एउटै शहरमा विभिन्न किसिमका कार्यक्रम भईरहेका हुन्छन्, जुन कार्यक्रम केवल भोजभतेर र मदिरा खाएर रमाईलो गर्ने बाहेक खासै उपलव्धीमुलक कमै हुन्छन् । वास्तवमा हरेक कार्यक्रममा सहभागी हुने हो भने दैनिक ज्यालादारी काम गर्ने हामी जस्ता श्रमिकहरुको कमाईले धान्नै सक्दैन र अर्को तर्फ एकैखाले कार्यक्रम दोहोराएर अनेक नाम गरेका सामाजिक संस्थाले राख्ने अनि त्यही नाँचगान, दोसल्ला ओढाउने, भाषण गर्ने, राती अवेर सम्म डिजे गर्दै मदिरापानीमा झुम्ने किसिमकै कार्यक्रम हुने भएकोले पनि यस्ता कार्यक्रम थोरै मात्र भएपनि अर्थयुक्त वा उपलव्धीमुलक हुनु जरुरी छ । हुनत हरेक दिन नेपालबाट नेताहरु घु्म्न आउँछन्, उनीहरुको स्वागत सत्कार गर्न पनि यस्ता भोजभतेर र रम्ने, झुम्ने, तडकभडक कार्यक्रम गर्नु पर्ने बाध्यता पनि होला तर यसो गरिरहनु आवस्यक छ/छैन, कति औचित्यपुर्ण छ आयोजकहरुले सोच्नु पर्ने र सहभागी हुनेहरुले आँखा खोल्नु पर्ने हुन्छ ।

अत: हामीले चाडवाड मनाउँदा, साथाभाई जमघट भएर रमाउँदा, अरुका रमझममा सहभागी हुँदा, सामुहिक भोजभतेर/जमघटमा रमाउँदा विवेक पुराएर के गर्दा आफु, आफ्नो परिवारका सदस्यहरु, छिमेकी, समुदाय, समाजलाई कमसेकम असर पर्छ भन्ने तर्फ पनि ख्याल पुराउन सक्नु जरुरी छ । त्यस्तै चाडवाड, पार्टी, उत्सव मनाउँदा कम्तिमा जीवनसंगिनी, बालबच्चाहरु वा अन्य परिवारका सदस्यहरुको राय/सल्लाह लिएर सामुहिक सहमतीमा यस्ता कार्यक्रम गर्दा, सहभागी हुँदा सबैको भलाई हुन्छ । त्यस्तैगरि यस्ता उत्सव, पर्व जीवनभरि मनाई रहने प्रक्रिया भएकोले सकभर कम खर्चमा छोटो समय मनाउँदा उपयुक्त देखिन्छ किनकी अहिले कमाएर भविष्यको लागी आवस्यक विभिन्न व्यवस्था गर्न, बच्चाहरुलाई पढाउन, रिटायर/निवृत्त जीवनको लागी आर्थिक रुपमा निश्चिन्त बन्न, भैपरि आउने खर्च, आपतविपत एवं संकटमा आर्थिक जोहो तत्काल गर्न पनि कमाईको केही भाग आयआर्जन हुने ठाउँमा वचत वा लगानी गरिरहनु आवस्यक छ किनकी समय गुज्रे पछि पछुताएर अर्थ छैन ।

अर्को तर्फ लापार्वाही किसीमको खानपान, जलपान/ मदिरापानले पनि स्वास्थ्यमा जटिल समस्या आउन सक्छ र परिवारमा आश्रित व्यक्तीहरुलाई संभावित आर्थिक संकट एवं मानसिक तनाव हुन सक्छ ।त्यस्तैगरि देखासिकी सकिनसकि गर्दा पनि परिवारमा संकट आउने, परिवारक टुक्रिने, पारिवारिक सम्बन्धमा नैराश्यता देखापर्ने, बालबच्चाहरुलाई आवस्यक रेखदेख नभई कुलतमा फस्ने आदी प्रतिकूल प्रभाव पर्न सक्छ । यी तमाम कुरालाई समयमै महिला एवं पुरुष दुवैले सोचौ नत्र पछि पछुताउनु हाम्रो रहर नभएर बाध्यता हुनेछ । के गर्दा राम्रो हुन्छ, के गर्दा हुँदैन निर्णय हजुरहरुकै हो तर हामीहरुले सामान्य आचरण, बानीव्यवहारमा सुधार ल्याउन सके अरुलाई पनि सकारात्मक संदेश जान्छ । वास्तवमा व्यक्तीहरुकै समस्टीगत रुपबाटै समाज र देश बन्छ र हरेक व्यक्तीको कर्म, बानीव्यवहारबाटै समाजको रूपरेखा कोरिने अनि समाजले एउटा बाटोको स्वरुप लिने हुन्छ ।

निचोडमा भन्नुपर्दा हामी विदेश वा स्वदेश जहाँ रहेपनि हाम्रो जीवनलाई व्यवस्थित गर्न लागौ तर व्यवस्थितको नाम आफैलाई परिवारलाई अस्तव्यस्त हुने गरि चाडपर्व, उत्सव मनाउन तर्फ नलागौ ।

प्रतिक्रिया