बारा, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निजगढमा नै गर्दा उपयुक्त हुने सुझाएका छन् ।
बाराको कोल्हबी कार्यक्रममा जाने क्रममा सिमरा विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले रुख मासेर स्मार्ट सिटी बनाउन नहुने तर, विमानस्थल बनाउन निजगढ टांगिया बस्ति उपयुक्त भएको बताए । यद्यपी, यस विषयमा संसदको परराष्ट्र तथा श्रम सम्बन्ध समितिद्वारा गठित उपसमितिले बैठक बसेर धारणा तय गर्न बाँकी रहेको जानकारी दिए ।
टांगिया बस्तिमा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा विभिन्न भ्रमहरु आएपछि संसदको परराष्ट्र तथा श्रम सम्बन्ध समितिले नेता नेपालको संयोजकत्वमा उपसमिति गठन गरी राय माग गरेको थियो । उपसमितिले हिजो हवाई निरीक्षण गरेपछि उपसमितिका संयोजक समेत रहेका नेपालको यस्तो प्रतिक्रिया आएको हो ।
भौगोलिक अवस्था, चट्टानी माटो, नजिक रहेको फाष्ट ट्रयाक, विशेष आर्थिक क्षेत्र सेजका कारण दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढको टांगिया बस्ति नै उपयुक्त हुने नेता नेपालले दाबी गरे ।
प्रतिक्रिया