राष्ट्रिय संबतको चर्चामा नेपाल सम्बत नै किन ?

इ रामकुमार श्रेष्ठ, लुम्बिनी-कपिलवस्तु विस्व अभियान विस्व संयोजक २०७५ कार्तिक १८ गते १३:१० मा प्रकाशित

विक्रम सम्बत् आफैमा खराब नहुँदा नहुँदै पनि विशेषगरी सामन्तबादको आभास दिने गलत आधारमा प्रयुक्त यो सम्बत लोकतान्त्रिक नयाँ नेपालमा राजकीय हैसियतसाथ रहनु हुँदैन र नेपालको गौरब बढाउने थप आधार हुन सक्ने नेपालकै नाम भएको नेपाल सम्बतलाई पुन: स्थापित गरिनु पर्छ भन्ने मान्यताले नेपाल सम्बत् स्थापनार्थ उठान गरिएको आवाजको पछाडि काम गरेको देखिन्छ । अत: आयातित भन्ने गरिए तापनि आयातित मान्न पनि नसकिने विक्रम सम्बतले हामीलाई प्रतिकात्मक हिसाबमा कुनियतसाथ राज गर्न दिनुभन्दा यसको स्थानमा सामान्य जनबाट यसै धर्तीको सुगन्धमा स्थापित देशलाई प्रबर्द्धन गर्ने नेपाल सम्वतलाई सगौरब प्रतिस्थापाना गर्न पर्छ भन्ने आवाजका साथ आएका बुद्धिजीविहरुको आवाज कदरयोग्य नै देखिन्छ ।

अहिले बिशेष गरी नेपाली वुद्धिजिबिका माझ नेपालमा नेपाल सम्बतलाई नै राष्ट्रिय सम्बतको रुपमा चलाइनु पर्ने आवाजले ब्यापकता लिन थालेको देखिन्छ । राजा महाराजा र धार्मिक व्यक्तिको नामबाट सम्वत चलाउने तात्कालिन प्रचलन विपरित नेपालकै भूगोलमा नेपालकै नामबाट सृजित यो सम्वत नेपालको इतिहासमा स्वर्ण युग भनिने लिच्छवीकालमा शंखध्वर शाख्वाद्धारा सूत्रपात भएको हो । राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखध्वर शाख्वाले ऋण मुक्त गराएका योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल सम्वत प्रचलन ल्याइएको थियो । नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत नौ सय छत्तिस र इश्वी सम्वत् आठ सय उनानअसी थियो ।

एघार सय तेत्तिस वर्षदेखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु परेको छ । लिच्छवीकाल र मल्लकालमा राजकीय सम्वतको मान्यता पाएको नेपाल सम्वतलाई गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ विजय प्राप्त गरेपछि भने गोरखामा प्रचलनमा रहेको शक सम्वतलाई राजकीय सम्वतको मान्यता दिए इ. सं. १६३९ देखि जसको निरन्तरता इ.सं. १८०४ सम्म अर्थात १६५ वर्षसम्म कायम रह्यो । त्रिभूवनको पालामा इ.सं. १८०४ देखि अर्थात विक्रम संवत् १९६१ देखि बैसाख १ गतेदेखि विक्रम संवतको शुरुवात भयो । नेपालमा हाल विक्रम संवत् राजकीय हैसियतको उमेर ११४ वर्ष मात्र पुगेको छ ।

११३२ बर्ष पहिले राघब देवको आज्ञा अनुसार नेपालको कार्यालयहरूमा चलाइएको नेपाल सम्बत लुनार क्यालेण्डर थियो, जस्मा एक औंसीबाट अर्को औंसीलाई एक चन्द्रमास भनिन्छ । १२ औंसीको एक बर्ष हुन्छ , त्यसैले ३५४ दिनको एक बर्ष हुन आउँछ । तीन बर्षको एक चोटी अनला महिना अथवा पुरुषोतम महिना, १३ औ महिना हुन आउँछ । त्यस बेला सूर्यले पृथ्बीलाई परिक्रमा गर्दछ भन्ने बिश्वास थियो । तर पछि बैज्ञानिकहरूले पृथ्बीले सूर्यलाई परिक्रमा गर्दछ भन्ने प्रमाणित गरे । त्यसबेला देखि नै १२ औंसी को एक बर्ष नभै पृथ्बीले सूर्यलाई परिक्रमा गर्ने एक चक्करलाई लाग्ने समयलाई बर्षको परिभाषा दिइयो ।

नेपाल सम्बत अभियान:

नेपाल सम्बत अभियान कलकतामा बसोबास गर्ने बुद्धिस्ट गतिबिधि एबं नेपाल भाषाका सकृय धर्मदित्य धर्माचार्यले नेपाल सम्बतलाई राष्ट्रिय पात्रोको रुपमा स्थापित गर्ने अभियान शुरु गरेसंगै १९२० मा शुरु भयो । राणाकालमा भाषा र संस्कृति सम्बद्ध अभियन्ताहरुले प्रजातन्त्र स्थापना आन्दोलनसंगै १९५१ मा यस्लाई नेपालमा निरन्तरता दिए । नेपाल सम्बतलाई राष्ट्रिय पात्रोकै रुपमा बिकास गर्ने गतिबिधिलाई १९७९ मा नेपाल भाषा ‘मंका खल’ को स्थापनाले थप उर्जा प्रदान गरायो । यस्ले आयोजना गर्ने र्याली र बिभिन्न जन सभा मार्फत यस्लाई एकातिर राष्ट्रियताको परिचायकको रुपमा र अर्कोतिर साशक बर्गबाट भाषा, साहित्य र संस्कृतिमाथि गरिएको दबाबका बिरुद्ध गतिबिधिको रुपमा बिकास गरिंदै लगियो । पञ्चायत कालमा यी गतिबिधिलाई दबाउने काम पनि भए ।

नेपाल सम्बत अभियानले पात्रोका संस्थापक संखधर साख्वालाई सरकारले २६ अक्टोबर २००३ मा राष्ट्रिय बिभूति घोषणा गरेपछि निकै ठुलो सफलता हात पार्यो । हुलाक बिभागले उन्को सम्मानमा टिकट प्रकाशन गर्‍यो भने २८ जनवरी २०१२ मा तानसेन पाल्पामा उन्को मूर्ति प्रतिस्थापन् गरियो । सरकारले संखधर साख्वा राष्ट्रिय अकाडेमी स्थापना गर्ने निर्णय समेत गरेको छ ।

नेपाल सम्वतको नयाँ वर्ष नेवार समुदायले सांस्कृतिक रुपमा मनाउने गरेका छन् । वर्षको पहिलो दिन साँझ परिवारका सबै एकै साथ बसि आत्मशुद्धिका लागि आत्म पूजा गर्छन्, जसलाई म्ह पूजा भनिन्छ । नयाँ वर्षलाई स्वागत गर्ने क्रममा पछिल्ला वर्षहरुमा सांस्कृतिक झाँकी सहित र्याली तथा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइने गरिएको छ ।

सुषुप्त अवस्थामा रहेको नेपाल सम्बतलाई जागृत गराउने काममा नेवार संप्रदायका वुद्धिजीबिहरुको सकृयताका कारण यो सम्बतसंग केही नेवारी शब्दहरुको निकटता देखिने, यो सम्बतको शुरुका दिन नेवारी समुदायले म्ह पूजा गरी अत्यधिक महत्व दिने र उनीहरुले नै र्याली र सभाहरु गर्दै नयाँ बर्ष मनाउने भएकाले नेवार समुदायसंग निकटता देखिए तापनि अन्य समुदायले पनि यो संबतसंग आ-आफ्ना भाषा र संस्कृति जोडेर अगाडि बढ्ने हो भने यो सम्बतसंग नेवार समुदायको निकटता जत्तिकै अथवा अझ बढी निकटता देखिने बातावरण पनि बन्न नसक्ने होइन कुनै समयमा । यो वातावरण बन्नु भनेको यो सम्वत अनेकतामा एकताको सूत्राधार बन्ने एउटा आधार तयार हुनु पनि मान्न सकिने देखिन्छ ।

भारत बिरोधी अभियान होइन:

विक्रम सम्बत् आज भारतमा पर्ने मालवीका राजाले स्थापित गरेका र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा बिदेशी सम्बत् भनिने गरिएको हो, तर जुनबेला यसको शुरुवात भयो त्यस बेला न नेपाल बनेको थियो न भारत । विक्रम सम्बतका संस्थापक विक्रमादित्य आजका भारतीय नभएर नेपाली भूमिकै हुन् भन्ने धारणाहरु नभएका होइनन । विक्रमादित्य लिच्छवि राजा भूमिवर्मा भएको र यिनको राजधानी विशालनगरमा भएको समेत विद्धानहरुको अनुमान छ । त्यस्तै भाषा वंशावलीले विक्रमादित्य राजाले बज्रयोगिनीवाट पारसमणि सहित आसिर्वाद प्राप्त गरी नारायणहिटी स्थापित गरेको उल्लेख दीर्घराज प्रसाईंले आफ्ना लेख विक्रम संवतको इतिहासूमा उल्लेख गर्नुभएको छ । अझ साँखु बज्रयोगिनीको मन्दिरदेखि केही माथि एउटा मन्दिरमा त विक्रमादित्य राजाको टाउकोकै मूर्ति छ र त्यसमा बज्राचार्यहरुद्धारा पूजा गर्ने परम्परा युगौँदेखि चली आएको छ । त्यस्तै नालामा उत्तरापुर राज्यको नाममा विक्रमादित्य राजाले राज्य गरेको किम्वदन्ती पनि प्रचलित छ । बंशावलीका शोधकर्ता वासुपासा “काभ्रेसिन्धु वृतान्तू” नामक आफ्नो पुस्तकको “विक्रम सम्बत्” भन्ने लेखमा लोकथाको आधारमा भन्नुहुन्छ – “पनौतिमा एउटा युवा ऋषीको स्खलित वीर्य खाएर गर्भवति भएकी युवतिबाट विक्रमादित्यको जन्म भयो र उनै विक्रमादित्य पछि काठमाडौँका राजा बने । उनले पछि वैशालीतर्फ गएर धेरै उल्लेखनीय काम गरे । भारतीय भूमिमा उनले ख्याति बढाएकैले उनलाई भारतीय बनाउने खेलहरु रचिए । अर्थात उनी नेपाली हुन् र उनले चलाएका सम्बत् त्यसैले नेपाली नै हो ।” यी सबैबाट विक्रमादित्यद्धारा शुरु गरिएको बिक्रम सम्बत भारतबाट आयातित सम्बतको रुपमा लिन नसकिने देखिन्छ जस्ले नेपाल संवत स्थापना अभियान भारत बिरोधी भियानको पाटोको रुपमा हेरिनुलाई औचित्यहिन बनाइदिन्छ ।

डा कबिताराम श्रेष्ठ आफ्नो लेख “गलत नियतमा प्रयुक्त विक्रम सम्बत् र अस्वीकृत नेपाल सम्बत्” मा लेख्नु हुन्छ – “इतिहासमा एउटा होइन थुप्रै विक्रमादित्यहरु देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन कि पराक्रमी राजाको पद्बी भएको देखिन्छ । इतिहासबाट स्पष्ट हुन्छ इतरसंस्कृतिका बिदेशी आक्रमण र उनीहरुका स्थापनाका बिरुद्ध ससाना राज्यहरुलाई सङ्गठित गर्दै लड्ने जित्ने र आफ्ना सँस्कृतिको संरक्षण गर्ने पराक्रमी राजाहरुलाई “विक्रमादित्य” मानिन्थ्यो । इतिहासले त त्यस्तै अभीष्टको लागि मरिमेट्ने राजाहरु स्वयमले आँफूलाई गर्बसाथ “विक्रमादित्य” घोषणा गरेका प्रसङ्गहरु पनि दिन्छन् ।”

भनिन्छ नेपाल सम्बतलाई संयुक्त राष्ट्र सङ्घमा नेपाली राजकीय सम्बतको रुपमा समेत प्रस्तुत गराइएको छ । ०४६ सालको राजनीतिक परिवर्तन पछि त यसका सँस्थापक शङ्खधरलाई विभूति मानेर राजकीय सम्मान नै दिइएको छ । धेरै राष्ट्रबादी चिन्तकहरु नेपाल सम्बतलाई नै राष्ट्रिय सम्वतको रुपमा स्थापित गराउन चाहन्छन् बिशेष गरी नेपालको रास्ट्रियतामाथि बारंबार नांगो रुपमा आक्रमण गरिने भएकोले आफ्नै देशको नाममा नै भएको सम्बतलाई प्रचलनमा ल्याउँदा आफ्नैपनमा बाँच्ने एउटा आधार थपिन जाने भएकोले ।

विक्रम सम्बत् आफैमा खराब नहुँदा नहुँदै पनि विशेषगरी सामन्तबादको आभास दिने गलत आधारमा प्रयुक्त यो सम्बत लोकतान्त्रिक नयाँ नेपालमा राजकीय हैसियतसाथ रहनु हुँदैन र नेपालको गौरब बढाउने थप आधार हुन सक्ने नेपालकै नाम भएको नेपाल सम्बतलाई पुन: स्थापित गरिनु पर्छ भन्ने मान्यताले नेपाल सम्बत् स्थापनार्थ उठान गरिएको आवाजको पछाडि काम गरेको देखिन्छ । अत: आयातित भन्ने गरिए तापनि आयातित मान्न पनि नसकिने विक्रम सम्बतले हामीलाई प्रतिकात्मक हिसाबमा कुनियतसाथ राज गर्न दिनुभन्दा यसको स्थानमा सामान्य जनबाट यसै धर्तीको सुगन्धमा स्थापित देशलाई प्रबर्द्धन गर्ने नेपाल सम्वतलाई सगौरब प्रतिस्थापाना गर्न पर्छ भन्ने आवाजका साथ आएका बुद्धिजीविहरुको आवाज कदरयोग्य नै देखिन्छ ।

प्रतिक्रिया