बलात्कारी र भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ : यज्ञराज सुनुवार

इनेप्लिज २०७५ कार्तिक १३ गते १२:३९ मा प्रकाशित

कात्तिक १३, काठमाडौँ । सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सुनुवारले पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने टिप्पणी गरेका हुन् ।

अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गरे ।

सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए ।

‘मुलुकले दिशा समात्न लागेको छ । तर, समस्या धेरै छन् । समाधान पनि हुँदै जान्छ’, उनले भने । प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलित नहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमा लिइने बताए । ‘सरकारले काम गरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन्’, सुनुवारले थपे ।

नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाइने जानकारी दिए । उनले भने , ‘स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अब एकता प्रक्रिया टुङ्ग्याउछौँ ।’

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद महेन्द्र राय यादवले छठसम्म संविधान संशोधन प्रक्रिया अगाडि नबढे सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारे ।

सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै यादवले आफूहरुले प्रस्तुत गरेका मागका विषयमा सरकारले वेवास्ता गरेको जिकिर गरे ।

‘संविधान संशोधनको माग पूरा गर्न छठसम्मको समय दिएका छौँ । सरकारले कार्यान्वयन गरेन भने समर्थन फिर्ता लिन्छौँ । यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुनुपर्छ’, यादवले भने ।

राजनीतिक मुद्दा सम्बोधन नभएसम्म आर्थिक समृद्धि र विकास हाँसिल हुन नसक्ने उनको भनाई थियो । सरकार अलमल र द्धिविधामा परेको भन्दै यादवले संघीयता कार्यान्वयनमा पनि सरकार असफल भएको आरोप लगाए ।

प्रदेश सरकार सञ्चालनका लागि संघीय सरकारले बाधा पुगाएको भन्दै यादवले संघीयता कमजोर बनाउने खेलमा सरकार नै सक्रिय हुन थालेको जिकिर गरे ।

प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएर संघीय सरकारलाई दबाब दिएको जानकारी दिदै उनले संघले तत्काल आवश्यक कानुन बनाएर प्रदेशलाई दिनुपर्ने माग गरे । ‘बलात्कारी समात्न नसक्ने सरकारले अरु के काम गर्छ’ यादवले प्रश्न गरे ।

प्रतिक्रिया