जनएकता सहकारीको अध्यक्षमा लामिछाने निर्वाचित, अध्यक्षद्वारा कुनै पनि पारिश्रमिक नलिने घोषणा

इनेप्लिज २०७५ असोज २९ गते ०:१७ मा प्रकाशित

खोलेसिमल, चितवन, २८ असोज ।

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा रहेको जनएकता उपभोक्ता सहकारी संस्था लि. को अध्यक्षमा निलकण्ठ लामिछाने निर्वाचित भएका छन् । गत असोज २० गते शनिबार भएको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको छ ।

सहकारी संस्थाको उपाध्यक्षमा इम प्रसाद पन्त (गोकुल), सचिव इन्द्र बहादुर घिसिङ, कोषाध्यक्ष चिनु भण्डारी बस्नेत, सदस्यहरु लेखनाथ भट्ट, दुर्गा गौतम, दिपकराज पौडेल, विष्णु बहादुर ढकाल र एकराज पाण्डे सर्वसम्मत चयन भएका हुन् । त्यस्तैगरी लेखा समिति संयोजकमा झलक भट्ट र सदस्य लक्ष्मी प्रसाद शर्मा चयन भएका छन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निलकण्ठ लामिछानेले आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै संस्थाद्वारा दिइने अध्यक्षको कुनैपनि भत्ता वा पारिश्रमिक नलिने समेत घोषणा गरेका छन् । साथै अध्यक्ष लामिछाने आफू विशुद्ध सामाजिक सेवाका साथ सामाजिक कार्यमा लागेको भन्दै यस संस्थाको विकास र प्रवद्र्धनमा आफू सधैँ लाग्ने र सबैको साथ र सहयोगको समेत अपेक्षा गरेका थिए ।

निर्वाचन समितिका संयोजक द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन सदस्य केशव लामाले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, नेकपाका नेता रामध्वज डल्लाकोटी, निर्वाचन समितिका सदस्य भिम प्रसाद खनाल, निवर्तमान अध्यक्ष ओम प्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया