रत्ननगर र कालिकामा दुर्गा पुजा समारोह, कार्यक्रममा वृद्धवृद्धालाई सम्मान

इनेप्लिज २०७५ असोज २४ गते २२:१२ मा प्रकाशित

खोलेसिमल, चितवन, २४ असोज ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ माधवपुरमा आजबाट विजयादशमीको अवसरमा नवदुर्गा पुजा आरम्भ गरिएको छ । श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रम समितिका संयोजक चन्द्र प्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल, कार्यक्रम सह–संयोजक रामकृष्ण पन्त, गोकुल पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा दुर्गा भवानीको मूर्ति अनावरण समेत गरिएको थियो भने स्थानीयहरुले भजनकिर्तन सहित वडाका विभिन्न क्षेत्रमा कलशयात्रा समेत गरेका थिए ।

त्यसैगरी कालिका नगरपालिका वडा नं. ६ जमुनापुरमा पनि दुर्गा पुजा आरम्भ गरिएको छ । जमुनापुर दुर्गा पुजा व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रम संयोजक तोयानाथ लामिछानेको अध्यक्षतामा भएको थियो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मीले वृद्धवृद्धालाई सम्मान गरेका थिए । स्थानीय १ सय १ वर्षीय भगिरथ लामिछाने र ८५ वर्षीया हिमा कुमारी अमगाईलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष बिनोद रेग्मी, नेकपाका स्थानीय नेता हेम प्रसाद अमगाई, समाजसेवी निलकण्ठ लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कालिका मन्दिर सरसफाई

त्यस्तैगरी हिन्दुहरुको महान पर्व विजयादशमीको शुभ अवसरमा कालिका नगरपालिका वडा नं. ८ मा रहेको कालिका भगवती माईको मन्दिर सरसफाई गरिएको छ । कालिका नगरस्तरीय वडा सदस्यहरुको समितिद्वारा आयोजित कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका वडा सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मन्दिर तथा परिसरमा सरसफाई गरिएको वडा नं. २ का वडा सदस्य लक्ष्मण पौडेलले जानकारी दिए । समितिका संयोजक बालकृष्ण अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका वडा नं. ७ का वडा सदस्य एवम् जिल्ला समन्वय समिति चितवनका सदस्य खिला कुमारी सिंखडा रहेकी थिइन् । साथै सो समितिकै आयोजनामा यही असोज २७ गते शनिबार कालिका नगरपालिकाको शक्तिखोरमा रहेको सिन्ती झरनाको समेत सरसफाई गर्ने योजना रहेको वडा नं. ६ का वडा सदस्य दशरथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया