भोजपुरी सिनेमाकी प्रसिद्ध नायिका रानी चटर्जीले आफूले नेपालमै एक्सन सिकेको बताएकी छन् । रौतहटको चन्द्रपुरमा भएको भेटमा नायिका चटर्जीले आफूले एक्सनको ए पनि नजानेको अवस्थामा नेपालकै एक्सन गुरु रोशनबाट आफूले एक्सनको पहिलो काम सिकेको स्पष्ट पारेकी छन् ।
रौतहटको गरुडामा शनिवार साँझ गरुडा सांस्कृतिक क्रार्यक्रमभन्दा पहिले नायिका चटर्जीले नेपालबाट थालेको एक्सन यात्राले आफूलाई भोजपुरीको सुपर एक्सन स्टार बनाएकोमा आफूलाई गर्व लागेको बताएकी छन् । आफू नेपाल बारम्बार आउने गरेको बताउँदै फिल्म सुटिङको क्रममा काठमाडौँ, पोखरा, ठोरी, हेटौँडा तथा अन्य स्थानमा बारम्बार गएको बताएकी छन् । नेपाली सिनेमाका कलाकार तथा प्राविधिकहरु स्तरीय रहेको र निकै मिलनसार तथा सहयोगी रहेको भन्दै नायिका चटर्जीले नेपालीको प्रशंसा गरेकी छन् ।
दुई वर्षपहिले अढाई सय भोजपुरी फिलिममा अभिनय गरिसकेको र त्यसभन्दा यताको गन्ती गर्न बाँकी रहेको बताउँदै भोजपुरी सिनेमाकी सबैभन्दा महँगो नायिका चटर्जीले नेपालमा सातवटा भोजपुरी सिनेमाको छायांकन गरेको बताइन् । नेपालमा भोजपुरी सिनेमाको राम्रो बजार रहेको र आफूलाई नेपाली दर्शकहरुले पनि निकै माया गरेको बताउँदै नायिका चटर्जीले गरुडा सांस्कृतिक कार्यक्रम ने नेपालभित्रको आफ्नो पहिलो स्टेज शो भएको बताइन् । नेपाली दर्शकहरुसित पहिलो प्रत्यक्ष कार्यक्रम भएकोले आफूमा बेग्लै किसिमको उत्साह रहेको पनि नायिका चटर्जीले बताइन् ।
नेपाल टेलिकमको प्रस्तुतिमा एस राज प्रोडक्सनको मुख्य तथा निर्बिज प्रोडक्सनको सह व्यवस्थापनमा पहिलोचोटि गरुडा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदा स्थानीय दर्शकलाई पनि निकै उत्साह रहेको छ । चर्चित नायिका चटर्जीसँगै कार्यक्रममा चर्चित भोजपुरी आइटम गर्ल सीमा सिंह, कलाकार सरिता साह, नेपाली गायिका सेलिना कुँवर, गायक तथा संगीतकार सन्तोज राज, बज्जिका कलाकार विजय यादव निर्बिज र अन्य कलाकारहरुको पनि प्रस्तुति रहने छ । सबै कलाकारहरु प्रस्तुतिका लागि निकै उत्साहित रहेको कलाकार बिजय यादव निर्बिजले बताएका छन् । नेपाली, हिन्दी, मैथिली, भोजपुरी र बज्जिका भाषाको संस्कृतिको संरक्षणका लागि स्थानीयबासीको मागमा आधारित कार्यक्रमको आयोजना गरिएकोले सबै भाषाको प्रस्तुति हुने आयोजकको तर्फबाट सन्तोष राजले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया