चितवनको कालिकामा २ दिने वातावरणमैत्री एवम् फोहोर व्यवस्थापन तालिम समापन

इनेप्लिज २०७५ वैशाख १० गते २२:४१ मा प्रकाशित

कालिका, चितवन, १० बैशाख ।
चितवनको कालिका नगरपालिका, वडा नं. ६ मा पूर्ण सरसफाई, वातावरणमैत्री एवम् फोहोर व्यवस्थापन सम्बन्धी २ दिने तालिम आज समापन भएको छ । सफा, स्वच्छ, हरियाली नगर बनाउने हाम्रो अभियान हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ भएको तालिम कालिका नगरपालिका वडा नं. ६ को कार्यालयको आयोजना र लेट्स डु इट नेपाल नामक संस्थाको समन्वयमा भएको थियो ।
तालिममा कालिका वडा नं. ६ का २७ वटा टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षको सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरु इन्जिनियर भरत पोख्रेल, बीरेन्द्र पौडेल, नारायण प्रसाद दवाडीले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रम कालिका वडा नं. ६ का वडा सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिनोद रेग्मीले पूर्ण सरसफाई, वातावरणमैत्री एवम् फोहोर व्यवस्थापनमा सम्पूर्ण टोल विकास संस्थाका पदाधिकारी एवम् सदस्यहरु लाग्नुपर्ने बताए । यस नगरलाई पूर्ण सरसफाई एवम् वातावरणमैत्री बनाउन नगरपालिका प्रतिवद्ध रहेकोले नगरवासीको साथ र सहयोगको समेत उनले अपेक्षा गरेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य दुर्गा सुवेदी, कालिका वडा नं. ६ का वडा सदस्यहरु दशरथ सापकोटा, सम्झना परियार लेट्स डु इटका अध्यक्ष दुर्गा आचार्य, कार्यक्रम संयोजक सुरेश दवाडी, तालिममा सहभागीहरुको तर्फबाट रेडक्रस टोल विकास संस्थाका उपाध्यक्ष होम बहादुर गुरुङ्ग, प्रगति टोल विकास संस्थाकी सदस्य मालती भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा कार्यवाहक नगर प्रमुख एवम् कालिका वडा नंं ६ का वडा अध्यक्ष बिनोद रेग्मीलाई वातावरणमैत्री झोला समेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वडा सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा वडा भित्रका २७ वटा टोलका अध्यक्ष एवम् प्रतिनिधिहरु रहने गरी वातावरणमैत्री, पूर्ण सरसफाई अनुगमन तथा परिचालन समिति समेत गठन गरिएको थियो ।

प्रतिक्रिया