आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

इनेप्लिज २०७४ चैत ६ गते १३:०४ मा प्रकाशित

काठमाडौँ, ६ चैत : नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।

प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ ।

स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ ।

प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिनुभयो । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ ।

यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ । आयोजनाको काम द्रुत रुपमा भइरहेको प्रवक्ता डा गणेश न्यौपाने बताउनुभयो ।

यस्तै भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ । यस्तै चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिए पनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भए पनि ‘हाइड्रोमेकानिकल’ र इलेक्ट्रोमेकानिकल’ को काम रोकिँदै आएको छ ।

यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो । यस्तै मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भइसक्नु पर्ने राहुघाट जलविद्युत् आयोजना ठेकेदार छनोटको प्रक्रियामा नै अल्झिएको छ । काम नगरेपछि ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जाँदा राहुघाटको निर्माण शुरु हुनै सकेको छैन । सो आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० पु¥याइएको छ ।

प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको ठेकेदार छनोटको प्रक्रिया शुरु भएको छ । प्राधिकरण र नेपाल टेलिकमलगायतको लगानी रहने सो आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’को सहायक आयोजनाका रुपमा निर्माण गर्न लागिएको हो । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । प्राधिकरणले सो आयोजना २०७६ को अन्त्यसम्म सक्ने कार्यतालिका बनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ ।

यस्तो छ निजी क्षेत्रको तयारी

यस्तै निजी क्षेत्रले सो अवधिमा साना, मझौला आयोजनाबाट करीब एक हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माण सक्ने गरी तयारी गरिरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अनुसार सरकारले थप सहजीकरण गरिदिए आगामी डेढ वर्षभित्र करिब एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले विद्युत् खरिद सम्झौता भएका तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजनामध्ये करीब ७० प्रतिशत आयोजना निर्माणका चरणमा रहेको बताउनुभयो ।

ऊर्जामा आत्मनिर्भर–सरकारको प्राथमिकता

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सरकारी, निजी क्षेत्रका आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने योजनामा सरकार रहेको जानकारी दिनुभयो ।

उहाँले वार्षिक रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थको आयातमात्रै प्रतिस्थापन गर्न पनि विद्युत् उत्पादनमा जोड दिनुपर्ने र निर्माणाधीन आयोजना समयअगावै सक्नुपर्ने बताउनुभयो । हाल भारतबाट पेट्रोलियम पदार्थमात्रै नभई हिउँदमा ४५० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया