सरकारले संविधानविपरीत काम गरे खबरदार गर्छौं : नेता सिंह

इनेप्लिज २०७४ फागुन ४ गते १३:४९ मा प्रकाशित

काठमाडौँ, ४ फागुन :नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सरकार बनिसकेको भन्दै काँग्रेस जिम्मेवार प्रतिपक्षका रुपमा बस्ने बताउनुभएको छ ।
नेपाल शिक्षक संघ काठमाडौँको आठौँ जिल्ला अधिवेशनलाई आज डिल्लीबजारमा उद्घाटन गर्दै उहाँले संविधानबमोजिम काम गरे सहयोग गर्ने र संविधानविपरीत काम गरे खबरदारी गर्ने बताउनुभयो । “प्रजातान्त्रिक पद्धतिअनुसार काँग्रेस निर्वाचन सम्पन्न गरेको छ, जनताको जनादेशलाई सम्मान गरेर काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्छ”, उहाँले भन्नुभयो ।

पूर्वमहामन्त्री सिंहले पार्टी संस्थागतरुपमा चल्न नसक्दा पार्टी कमजोर भएको र पार्टीको छवि बिग्रँदै गएको बताउनुभयो ।

नेता सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षामा दूरी बढ्दै गएको भन्दै निजी विद्यालयसरह शिक्षा दिन सामुदायिक विद्यालयका शिक्षक लाग्नुपर्ने उल्लेख गर्नुभयो । समाजलाई सकारात्मक दिशातर्फ लैजान शिक्षकको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

उहाँले गुणस्तरीय, प्रविधियुक्त शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उक्त शिक्षाका लागि नेपाल शिक्षक संघले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया