बुधबार, असोज ३१ २०७५
काठमाडौं ०७:३२
वासिङटन डिसी 21:47

पृथ्वी पथले मुलुकलाई समृद्धि तर्फ लैजाने : डा लोहनी

इनेप्लिज २०७४ पुष २७ गते १२:३२ मा प्रकाशित

काठमाडौँ, २७ पुस :  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा राष्ट्रिय एकताका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँले गरेका कार्यलाई सम्मान गर्नुपर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले विचार व्यक्त गर्नुभएको छ ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले यहाँ आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा उहाँहरुले पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष निकाल्नुभयो ।

कार्यक्रममा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए अहिले मुलुक नरहने भन्दै उहाँले गरेको कामलाई सरकारले मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वी पथको आवश्यकता औँल्याउँदै यस पथले मात्र मुलुकलाई समृद्धितर्फ लैजान सक्ने दाबी गर्नुभयो ।

सरकारले यस दिवसलाई विगत झैँ राष्ट्रिय एकताको दिवस भनेर सधैँ मनाउनुपर्ने उहाँको जोड रहेको थियो ।

कार्यक्रममा पूर्वमन्त्री दिलनाथ गिरीले आजको दिनलाई सरकारले राष्ट्रिय एकता दिवस मात्र भनेकामा अपुरो भएको भन्दै दिवससँगै पृथ्वी जयन्तीका रुपमा मनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसलाई सामाजिक विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दिवसलाई विभिन्न राजनीतिक रंग दिनुभन्दा पनि सामाजिक र राष्ट्रभावका रुपमा मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता डा भीमार्जुन आचार्यले विविधताका नाममा देश टुक्र्याउने काम भएको बताउनुभयो । उहाँले अहिले नेपालको सार्वभौमसत्तामाथि धावा बोलिरहेका बेला यस दिवसको सान्दर्भिकता अझै बढेको बताउनुभयो ।

प्रतिक्रिया