बाल अस्पताल निर्माणको लागि सहयोग गर्न इच्छुक : भारतीय महावाणिज्य दुत प्रधान

इनेप्लिज २०७४ पुष १० गते १५:०८ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १० पौष ।
नेपालका लागि भारतीय महावाणिज्य दुत बि.सी. प्रधानले चितवनको कालिका नगरपालिका क्षेत्रमा बाल अस्पताल निर्माण गर्नको लागि आवश्यक सहयोग गर्न आफु र भारत सरकार इच्छुक रहेको बताएका छन् । महावाणिज्य दुत प्रधानले आज सोमबार कालिका नगरपालिकाको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेपाककै मध्य भागमा रहेको यस क्षेत्रमा बाल अस्पताल संचालन गर्न सके नेपालका धेरै जनताले सेवा लिन पाउने समेत बताए ।

महावाणिज्य दुत प्रधानले स्थानीय नगरपालिकाले नेपाल सरकार मार्फत् भारतीय सरकारलाई अस्पताल निर्माण गर्न अनुरोध गरेमा सहयोग गर्न सकिने भन्दै आवश्यक सहयोग र पहलको लागि आफु प्रतिवद्ध रहेको समेत बताए । कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले कालिका नगरपालिकाको वडा नं. ३ मा अस्पताल संचालन गर्न २ बिगाहा जग्गा रहेको भन्दै अस्पतालको लागि थप जमिन आवश्यक परेमा थप ४ बिगाहा जग्गा समेत नगरपालिकाले उपलब्ध गराउन सक्ने बताए । यस नगरपालिकाका अधिकाँश जनता विपन्न र निम्न स्तरका रहेकोले यस क्षेत्रका जनताको स्वास्थ्यको सुधारको लागि भारत सरकारबाट आवश्यक सहयोगको अपेक्षा समेत उनले गरेका थिए ।

नेपाल–भारत मैत्री बाल अस्पताल संचालनको लागि लाग्ने १ अरब ९६ करोडको प्रस्तावन पत्र समेत नगर प्रमुख श्रेष्ठले महावाणिज्य दुत प्रधानलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरपालिकाको उपमेयर कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, नगरपालिकाका इन्जिनियर सुवास पोखरेल, वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल, नगरपालिकाका सूचना अधिकृत बलराम लुइटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो भेटघाट कार्यक्रम पश्चात् महावाणिज्य दुत प्रधानको टोलीले अस्पताल निर्माण गर्न सकिने स्थल कालिका ३ पदमपुरको समेत अवलोकन गरेको थियो । कार्यक्रममा नेपालका लागि भारतीय वाणिज्य दुत राकेश कुमार, रोनिक स्मृति ट्रष्टका प्रमुख डा. जे. बि. पाठक, नगरका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया