नेपालमा व्यापार प्रवद्र्धन र वैदेशिक लगानीको आग्रह

इनेप्लिज २०७४ मंसिर २६ गते १३:५८ मा प्रकाशित

काठमाडौँ, २६ मंसिर (रासस) ः संयुक्त राज्य अमेरिकाको हार्भड विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले नेपालमा व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तारका साथै प्रत्यक्ष वैदेशिक लगानीका लागि आग्रह गरेका छन् ।

त्यहाँस्थित नेपाली महावाणिज्यदूतावास र विद्यार्थीले संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियामा त्यस्तो आग्रह गरिएको महावाणिज्यदूतावास कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाली महावाणिज्यदूत मधुकमार मरासिनीले पछिल्लो राजनीतिक विकास, नेपाली अर्थतन्त्रको वर्तमान अवस्थितिबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रममा नेपालमा हालै सम्पन्न स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सफलताले राजनीतिक स्थिरता र आर्थिक विकासको ढोका खुलेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकामा रहेका विद्यार्थीलाई नेपाल निर्माणको महाकार्यमा सहभागी हुन आग्रह गरिएको विज्ञप्तिमा विश्वकै चर्चित शैक्षिक संस्था हार्भड विश्वविद्यालयबाट नेपाली विद्यार्थीले प्राप्त गरेको सीप, ज्ञान र प्रविधिलाई नयाँ नेपाल निर्माणमा प्रयोग गरिनुपर्ने खाँचो औँल्याइएको छ ।

निर्माण मजदुर मात्र हैन अहिलेको आधुनिक युगमा नयाँ आविष्कारका संस्थागत धारणाको विकास गरी उत्पादन वृद्धि तथा आर्थिक रुपमान्तरणमा जोड दिइनुपर्ने महावाणिज्यदूत मरासिनीको धारणा रहेको थियो । विद्यार्थीको प्रतिनिधि रसिक अधिकारीका अनुसार अन्तरक्रियामा हार्भड युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी, नेपाल सरकारका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया