प्रमुख आयुक्त डा यादवसँग युरोपेली संघ टोलीको भेट

इनेप्लिज २०७४ मंसिर ८ गते १५:०३ मा प्रकाशित

काठमाडौँ, ८ मंसिर  ः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको युरोपेली संसद्का टोली प्रमुख नीना गिल नेतृत्वको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ ।

प्रमुख आयुक्त यादवले युरोपेली संघले विगतका निर्वाचनमा नेपालको निर्वाचन पर्यवेक्षण गरेको स्मरण गर्दै त्यसका लागि धन्यवाद ज्ञापन गर्नुभएको निर्वाचन आयोग सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट हुने निर्वाचन पर्यवेक्षणबाट नेपालको निर्वाचनको विश्वसनीयता अझ बढ्ने धारणा राख्दै पर्यवेक्षकबाट नेपालको कानून र निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

भेटमा चेक रिपब्लिक, जर्मनी, अष्ट्रिया, स्पेन, स्लोभाकिया, बेलायतका तर्फबाट युरोपेली संघको प्रतिनिधित्व गर्दै आउनुभएका सांसद्लगायत पर्यवेक्षण संस्थाका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

भेटमा युरोपियन युनियनका सांसद्ले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई बधाई ज्ञापन गर्र्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी, मतदाता शिक्षा, शान्तिसुरक्षा, मतपत्रलगायत विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

आजै प्रमुख आयुक्त डा यादवसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण मिसन नेपालका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले भेट गर्नुभयो । प्रमुख पर्यवेक्षक जोभ्कोले संघबाट खटिएका पर्यवेक्षकबाट हालसम्म सम्पादन भएका काम कारबाहीबारे अवगत गराउनुभएको थियो ।
सो भेटमा कञ्चनपुरमा पर्यवेक्षणका क्रममा भएका कमीकमजोरी र अब अपनाउनुपर्ने सतर्कताका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया